सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित थप सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका-४ का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए।
संक्रमितहरू २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ। उनीहरू सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताए।
योसँगै सिरहामा कोरोना संक्रमितको संख्या २७४ पुगेको छ। तीमध्ये २०९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। कोरोना संक्रमणका कारण सिरहाको गोलबजार नगरपालिका-१२ र विष्णुपुर गाउँपालिका-१ का २२ र ४० वर्षका दुईजनाको मृत्यु भइसकेको छ। रासस