कमला ह्यारिसलाई चिन्न उनकी आमा चिन्नुपर्छ

सेतोपाटी

काठमाडौँ

एपी

अमेरिकामा डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार भएकी भारतीय मूलकी कमला ह्यारिसले अधिकार र कर्तव्यको चेत हुर्कने क्रममै आमाबाट पाएकी थिइन्।

उनकी भारतीय आमाले उतिखेरै अधिकारका लडाइँहरूमा छोरीलाई च्याप्दै अघि बढेकी थिइन् भने जीवनमा गुनासो होइन काम गरेर देखाउनु पर्छ भन्ने पाठ पनि घोकाएकी थिइन्।

सर्वोच्च अदालतको न्यायाधीश छनौटका बेला संसदीय सुनुवाइमा धूम मच्चाएकी सिनेटर कमलाको शरीरमा कसको रगत बगिरहेको छ? पक्कै पनि श्यामला गोपालनको जसले उनकी छोरीलाई आफूजस्तै योद्धा बनाएर हुर्काएकी थिइन्।

'मेरी आमा हामीलाई जहिल्यै पनि कामै नगरेर यसो भएन र उसो भएन भन्नुभन्दा केही गरेर देखाओ भनिरहनुहुन्थ्यो,' बुधबार डेमोक्रेट पार्टीकै राष्ट्रपतिका उम्मेदवार जो वाइडेनसँग पहिलोपटक देखापरेकी कमला भनिरहेकी थिइन्, 'त्यसैले मैले केही गरेर देखाउने आँट गरेकी छु।'

सन् १९६० दशक उदय हुँदै गर्दा बर्क्लेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा ह्यारिसका आमाबुवा विद्यावारिधि गरिरहेका थिए। त्यतिबेलै उनीहरू एकअर्कासँग नजिकिए। जमाइकाबाट आएका पिता डोनाल्ड ह्यारिस अर्थशास्त्रका विद्यार्थी थिए। आमा गोपालन पोषण र ग्रन्थी र हर्मोनसँग सम्बन्धित 'इन्डोक्रिनोलोजी' विषयकी छात्रा।

प्रकाशित मिति: : 2020-08-17 16:39:34

प्रतिकृया दिनुहोस्