विपिन अधिकारी
सरकार गठन भएपछि शुरूका दुई वर्षमा काम गर्नलाई आवश्यक पर्ने कार्यनीति केही स्पष्ट देखिन्थ्यो। काम गर्ने हुटहुटी थियो, तौरतरिका पनि मिलेका र त्यसतर्फ लक्षित देखिन्थे। तर, तेस्रो वर्ष शुरु हुँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैंभित्र देखिएको कलहले सरकारमा पनि प्रभाव पर्न थाल्यो। पार्टीले प्रधानमन्त्रीलाई जुन हिसाबले नियन्त्रण गर्न खोज्ने र प्रधानमन्त्रीले पार्टीलाई जुन हिसाबले छल्न खोज्ने स्थिति देखिएको छ, त्यसको मिलनविन्दु के हुन्छ भन्ने टुङ्गो लाग्न सकेको छैन।
यही कारण हाम्रो बाह्य सम्बन्ध पनि प्रभावित हुँदै गएको देखिन्छ। पछिल्लो समय विदेशनीतिमा सरकारको जुन कटिबद्धता देखिएको थियो, त्यसका पछाडि सत्तारुढ दल मात्र नभएर सबै पार्टीको सहयोग थियो। संसद्मा रहेका पार्टीहरु एकढिक्का हुँदा राष्ट्रिय स्वार्थका निम्ति अडान लिन सरकार सबल बनेको थियो। तर, पछिल्लो समय सत्तारुढ दलभित्रकै किचलोले त्यसलाई समेत प्रभाव पारेको देखिन्छ।
जस्तो कि, चीनसँगको विस्तारित सम्बन्धबारे आम रुपमा समेत जुन उत्साह देखापरेको थियो, त्यस अनुसार काम भएको देखिएन। बरु अर्कोतर्फ भारतसँगको सम्बन्धमा चिसोपना देखिंदैछ। त्यो चिसोपनालाई कसरी कम गरेर न्यानोपन थप्ने, भारतसँगको सम्बन्धलाई कसरी सन्तुलनमा ल्याउने भन्नेतर्फ ध्यान पुग्न सकेको छैन। यसमा तत्काल ध्यान दिनुपर्ने खाँचो छ।