भारतीय क्रिकेटको ७ नम्बर जर्सी धोनीलाई समर्पीत गर्न आग्रह

भारतलाई टेस्ट, एकदिवसीय र टि–२० मा नम्बर एक टिम बनाउने महेन्द्र सिंह धोनीको ७ नम्बर जर्सी उनको नाममा समर्पीत गर्न पूर्व खेलाडीहरूले माग गरेका छन्। 

दिनेश कार्तिक तथा मोहम्मद कैफ जस्ता खेलाडीले ७ नम्बर जर्सी लगाएर भारतलाई टेस्टको नम्बर १ टिम बनाउन सफल धोनीको जर्सी उनलाई समर्पीत गर्न भारतीय क्रिकेट बोर्डसँग आग्रह गरेका हुन्। 

धोनीले १५ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनको नेतृत्वमा भारतले टि–२० र एकदिवसीय क्रिकेटको विश्व कप पनि जितेको थियो। बोर्डले सचिन तेन्दुलकरको नाममा १० नम्बरको जर्सी समर्पीत गरिसकेको छ। 

कार्तिकले १६ अगस्टमा धोनीको फोटो सेयर गरे। उनले भनेका छन्, ‘आशा छ, बीसीसीआई एकदिवसीय र टि–२० मा ७ नम्बर जर्सीलाई पनि सन्यास दिनेछ।’

कैफले पनि भनेका छन्, ‘टिम इन्डियाको ७ नम्बर जर्सी धोनीपछि कसैले लगाउने सोच पनि राख्दैनन्।’

धोनीले ७ नम्बरमा ब्याटिङ गर्दै एकदिवसीयमा सबैभन्दा बढी सतक बनाउने कीर्तिमान पनि बनाएका छन्। उनको गाडीको नम्बर पनि ७ छ। उनको जन्मदिन पनि सातौं महिनाको ७ तारिखमै पर्छ। 

धोनीले बिहे पनि ७ औं महिनामा गरेका थिए। उनले सन् २०११ मा आफ्नो कप्तानीमा भारतलाई विश्व कप जिताउँदा लगातार ७ खेल जितेका थिए। 

सन् २०१३ मा सचिनले विश्व क्रिकेटबाट सन्यास लिएपछि उनको जर्सी सार्दुल ठाकुरले लगाएका थिए। तर, क्रिकेट समर्थकले यसको विरोध गर्दै १० नम्बर जर्सीलाई सचिनको नाममा समर्पीत गर्न आग्रह गरेका थिए। बीसीसीआईले पछि १० नम्बर जर्सीलाई रिटायर गरेको थियो।

प्रकाशित मिति: : 2020-08-16 22:35:19

प्रतिकृया दिनुहोस्