प्रभु बैंकले २३ अर्बले निक्षेप बढायो, सेयरधनीलाई १ अर्ब ८ करोड बाँड्न मिल्ने

प्रभु बैंकले गत वर्ष २०७६/७७ मा सेयरधनीलाई १ अर्ब ८ करोड रुपैयाँ बाँड्न मिल्ने नाफा गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड रहेको बैंकले गतवर्षको नाफाबाट मात्र सेयरधनीलाई १०.४७ प्रतिशत लाभांश बाँड्सक्छ । बैंकको जगेडामा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

बैंकले गतवर्ष १ अर्ब ३६ करोड नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ७८ करोड नाफा गरेको थियो । कोभिडको असर अरु बैंकमा जस्तै प्रभुमा पनि परेको हो ।

गत आर्थिक वर्षमा बैंकको कर्मचारी खर्च ३५ करोड र अन्य सञ्चालन खर्च २४ करोड रुपैयाँले बढेको छ । खर्च बढेपछि गत आवमा बैंकको नाफा अघिल्लो आवको तुलनामा २३.३५ प्रतिशतले घटेको हो । गत आवमा बैंकले एक अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४१ करोड रुपैयाँले कम हो । अघिल्लो आवमा बैंकले एक अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

कोरोनाका कारण ठप्प रहेका उद्योग धन्दालाई राहत तथा सहुलियत दिनु पर्दा बैंकको नाफामा गिरवाट आएको हो । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई ब्याजदरमा छुट दिने तथा कर्जा तिर्ने समय अवधि थप गरेपछि बैंकहरुको नाफा प्रभावित भएको हो ।

बैंकले समस्यामा रहेका किस्ट र डिसिबिएल बैंकलाई खरीद गरेको हुनाले खराब कर्जा उच्च रहेको थियो । अघिल्लो आर्थिक वर्षमा ३.७६ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आवमा घटेर २.८१ प्रतिशतमा झरेको हो । गत आवमा बैंकले खराब कर्जा असुलीमा सुधार आएको भएपनि नाफा भने बढ्न सकेन ।

गत आर्थिक वर्षमा बैंकको जोखिम ब्यावस्था वापतको रकम भने घटेको छ । गत आवमा बैंक सो शिर्षकमा २५ करोड २९ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा बैंकले उक्त शिर्षकमा ३७ करोड एक लाख रुपैयाँ छुट्याएको थियो ।

बैंकले गत आवमा ४ अर्ब ६४ करोड खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २५ करोड रुपैयाँले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवमा बैंकको खुद फि तथा कमिसन आम्दानी पनि करिब २ करोड रुपैयाँले बढेर ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

हाल चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको रिटेन अर्निङ एक अर्ब १० करोड रुपैयाँ छ । गत आर्थिक वर्षसम्ममा बैंकले एक खर्ब २८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

अघिल्लो आवमा २१.०३ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी गत आवमा ७.१ रुपैयाँले घटेर १३.९३ रुपैयाँमा खुम्चिएको छ । गत आवमा प्रतिशेयर नेटवर्थ १५१.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.८७ गुणा छ । गत आवमा बैंकको कष्ट अफ फण्ड ६.०६ प्रतिशत, आधार दर ८.३२ प्रतिशत रहेको छ । बैंकको स्प्रेड रेट ३.५७ प्रतिशत छ ।

प्रकाशित मिति: : 2020-08-15 10:17:06

प्रतिकृया दिनुहोस्