किङ्स ल्याण्ड सिजन -३
चन्दननाथ, पैकालका हात हरेक बर्खामास रोप्न आउँछन्, यी जिउलामा भन्ने विश्वास छ। र त गुरू फोक्टोमा रूडो (खडेरी) परोस् या ठूलै पानी आवस्, जेसुकै होस्, एक सुप्पो धान फल्छ। अनि किन नलागोस् गुरू महाराज हरेक बर्खा यी जिउलामा आउछन् भन्ने?
पैकालको हतारो बर्खा मासमा यहाँका मान्छेहरू भित्र प्रवेश गर्छ र मार्सी हुर्काएर मात्र निस्किन्छ।
त्यसैले त अन्न चिनाउने गुरू भगवान भन्दा ठूलो मानिन्छन्।
गुरू ठूलो कि भगवान?
कबिरले भनेका छन्,‘गुरू गोविन्द दो खडेका के लागे पाए
बलिहरि गुरू आपने गोबिन्द दियो बताए।’
त्यसैले त जुम्लीले भरोसा दिलाउन खोजे भने भन्छन्, ‘यी चन्दननाथ साक्षी छन्।’
हरियो रङ्ग प्रकृतिले आफैंलाई श्रृङ्गार गर्ने रङ्ग। प्रकृतिको आफ्नो रङ्ग हरियो हो। आमा, भाउजु र बहिनीको हरियो साउन आउँदै छ। हरियो सिर्जनाको रङ्ग हो। तर सिर्जनाको रङ्ग बीच यो विकासको रङ्ग? यदि विकासको रङ्ग यस्तै हो भने यसलाई विनासको रङ्ग भन्दा हुन्छ!
हेर्नु न म चिप्लिएँ। म लडेँ। मलाई केही भएकै छैन। बाटो देखिने ठाउँसम्म हिलो छ। म हिलोको बीचमा छु। like a lotus, हैन र?
मेरो विपरीत दिशाबाट तीन जना पुरूष आउँदैछन्। रड्दै र पढ्दै बलिराजाले भैलो खेल्ल पठाएको हालमा। ‘आएका हामी, ए रड्दै र पड्दै।’
गज्जब कलाकार भेटियो।
मेरो प्रश्नको उत्तरमा उसले भन्यो, ‘यस्सो घुमिदिउन् भनेर सर। तपाईँको भाषामा भन्नू पर्दा क्या जोवन भासिने हो क्या? घुम्न हँड्या।’ उसँगका अरू दुई इटालियन रहेछन्। Visit Nepal 2020 को हल्ला सुनेर आएका। कोरोनाको लकडाउनमा, यतै गुम नाम भएछन्। अहिले चै हिलोको मज्जा लिराछन्।
त्यो मान्छेलाई चिन्नुभएन?
उही क्या जुम्ला कृष्ण मन्दिर पछाडि पम्फा फूल र गर्भ छिटाको एउटा अंश बाँकी छ नि। हो त्यहिँ अंशलाई मञ्चन गरि बस्ने।
ऊ पम्फा फूलको .....वीर बहादुर,
ऊ गर्भ छिट्टाको ....चाउरे दमाई,
मेटासेटको माने
ऊ गोविन्द सुनार हो।
ऊ कलाकार हो, तर ऊ राष्ट्रको गहना हैन।
ऊ व्यापारी हो। तर ऊ सुनार भएर पनि सुन बेच्दैन। उसो त ऊ कफी बेच्छ, चिया बेच्छ, मः मः बेच्छ, चाउमिन बेच्छ र आफ्नो सादगी बेच्छ। उसले शून्य लगानीबाट सुरु गरेको ‘अन्नि घर’ मा। म बस्न गैरहन्छु।
ऊ अहिले जुम्लाको गर्भमा चलायमान छ। कहिले कहाँ कहिले कहाँ भेटिन्छ। पात जस्तो छ मान्छे, उडिरहन्छ। अहिले यहाँ छ।
पसलमा हुँदा पनि ऊ कहाँ बसिरहन्छ र? कहिले कपहरूबाट मज्जाको ध्वनि निकालिरहेको हुन्छ त कहिले उसको टायरबाट बनाइएको टेबलको चमक निकालिरहेको हुन्छ।
कहिले ऊ चिया मन्थन गरिरहेको हुन्छ त कहिले धुलोको गोलो चन्द्रमालाई सेकाइरहेको हुन्छ।
ऊ मालिक हो, तर मालिक बनेको छैन। मालिक नबन्ने मान्छे दौडिरहेको हुन्छ। पात्रहरू झैं। उसले सामनको पुनः प्रयोग गरि ‘अन्नि घर’ त बनायो तर ‘अन्नि घर’ एक नाटकघर जस्तो छ।
ऊ पहिले दौडिन्थ्यो पात्र बन्नका लागि।
उहिले नाटकघर दौड्यो, सुनिल पोखरेल पछाडि।
सिनामंगल पुरानो घर दौडियो, सुलक्षण भारतीको पछि पछि।
मानौकि उसको रोल नै दौडिनु हो।
तर ऊ दौडिरहेको पात्र भए पनि जुम्लाका गाउँ गाउँबाट प्रतिभा ल्याउँदै, महेश नेपालीका कलमलाई बुझाउँछ। महेश नेपाली पात्रको रूपरेखा शब्दले कोरेर हामी माझ पुर्याइदिन्छ। ऊ अर्थात गोबिन्द भन्छ हामी नाटक खेल्नेहरू त मिस्त्री र लेबर हौं, इन्जिनियर त लेखक नै हुन्। उनीहरूले निर्माण गरेको वस्तुलाई हामी आकार दिन्छौं। एक हिसाबले ऊ हिरा बिजुली नेपाली हो। ऊ कर्णाली हो। त्यसैले काठमाडौंको आँखामा पर्दैन र अहिले मेरो आँखाबाट ओझेल भइसकेको छ।
खै कसरी आफ्नै नाकमा आफ्नै काखिको गन्द पस्यो। आफ्नै काखिको। यति नमिठो गन्द। यति अमिलो गन्द। हाय भगवान बास। कहिलेकाहीँ त लाग्छ, यदि यो शरीरमा भगवान बस्छ भने यो घर त भगवानको हो। मैले किन सफा गर्नु? किन भगवानको दास बन्नु? आखिर म को हुँ? किन यसरी भगवानको घरको हेरचाह गरि बसेको छु? टुटे टुटोस् हड्डी, फुटे फुटोस टाउको र मान्छे मर्दा, उसको घर जलाउँदा भगवान कहाँ जान्छ? म कहाँ जान्छु?
यो फोहर मान्ने, यो गन्द थाहा पाउने, म कि भगवान?
यो मान्छेको बीउ जोगाइराख्न चाहने। म को हुँ?
‘किङ्स ल्याण्ड आउन कति छ?’
‘यहीँ त हो।’
‘ए भनेसी म आइपुगे?’
‘अवश्य आइपुग्नु भो।’
‘राजा कता हुनुहुन्छ?’
‘भर्खरै हारेर कता जानुभयो खै?’
‘दरबार खै?’
‘गोर्खालीले लगे।’
‘खोइ गोर्खाली?’
‘सुके।’
‘अनि दरबार कहाँ नीर थियो?’
‘दरबार त उ त्यहाँ माथि डाँडामा थियो।’
‘भने पछि हामी दरबार भित्र पस्न बाँकी छ? हामी किङ्स ल्याण्डमा छौं। भनेसि प्यालेशमा जानु छ।’
‘छ त, एक घण्टा त लागिजाला तमि नहँड्या मान्छेलाई।’
‘ल हामी हिँडौं है?’
फेरि अर्को मनले भन्यो। आजै नजाउ किङ्स ल्याण्डमा, यहाँका प्रजा गणमा त थाहा होस्। कोही किङ्स प्यालेस जाँदैछ भोलि भन्ने कुरा। आज यतै बसौं? गोठिजिउला हिमाकै किनार, पाहाडको काख।
कोरोना रहेसम्म पर्यटक आउँदैनन्। पर्यटक हरेकलाई थाहा भइसकेको छ, कि कोरोना रहन्छ कि ऊ भन्ने। भनेनी मान्छे भित्रको भगवान् डरपोक छ, ऊ होशियार बन्न खोज्छ र भन्छ, ‘बाहिर नजा।’ यदि म बाहिर गए उसको घर रहँदैन। घर नहुनु भनेको बेघर हुनु हो। सत्ता च्यूत हुनु हो।
अन्त्यमा गएर आजको सिंजा सभ्यता बन्नु हो। जतिसुकै बलवान् भए पनि घर हुनुपर्छ, अनि त्यो दरबार बन्छ। भनिन्छ नि आफ्नै हात जगन्नाथ। हात भए जगन्नाथ हुने हो। घर भए दरबार हुने हो।
म मार्केट अफ होम मेड मार्फा बारे बुझ्न चाहन्छु।
उ भन्छ, ‘local homemade apple alcohol has not any label, that's why it's illegal ?’
माथिको कथन उसले यताको जुम्ली लबजमा भनेको थियो। लबज पढ्नका लागि हैनन्, सुन्नका लागि हुन। यता आएर सुन्न सक्नुहुन्छ। तपाईँका कान पवित्र हुनेछन्।
नागरिकता, भोटर कार्ड, पासपोर्ट बिना धेरै पल्ट बजार हिँडेको मार्फा बजार पुग्न पाउँदैन। बीचमै एक्सिडेन्ट्मा पर्छ। उसको हैसियत खसाइन्छ र उसलाई जमिनमा मिसाइन्छ। त्यसैले यहाँका होटल साहु। सुरूमा त,‘We have no home made/original’ भन्छन्। त्यसपछि तपाईँले केही समय खर्चनुपर्ने छ। नजिकको मान्छे बन्नुपर्ने छ अनि पाउनु हुनेछ सक्कली मार्फा। लोकल रक्सी। टुमुरको स्वादमा, जडिबुटी मिश्रृत। हिमाको जलले सिञ्चित। आमा, भाउजु, दिदी, बहिनीले पुलिसको आँखा छल्दै बनाएको मार्फा।
म पिउँछु तपाईँ अगाडि बढ्नुस् है।