काठमाडौं उपत्यकामा भदौ १५ सम्म यी क्षेत्रमा प्रतिबन्ध, खुला स्थानमा भेला हुन रोक

काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्लामा शुक्रबार मध्यरातिदेखि लागू हुने गरी केही क्षेत्रमा प्रतिबन्ध लगाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भदौ १५ गते मध्यराति सम्मका लागि निश्चित व्यापार-व्यवसायमा रोक लगाएको हो।

सरकारले काठमाडौं उपत्यका र कोरोनाका सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोरसँगै प्रतिबन्धात्मक आदेश जारी गरिसकेको अवस्थामा उपत्यका थप कडाइ गर्न लागिएको हो।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ निकालेको छुट्टा छुट्टै सूचना अनुसार भदौ १५ गतेसम्म खुल्ला स्थानमा भेला हुन पाइने छैन। 

त्यसैगरी, भीडभाड र जुलुसमा प्रतिबन्ध लगाइएको छ, भने जात्रा महोत्सव सञ्चालन गर्न पाइने छैन।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख भए अनुसार  दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि प्रतिबन्ध गरिएको छ। फुटपाथमा ठेलागाडा र साइकल लगायतमा सञ्चालन हुने व्यापारमा प्रतिबन्ध गरिएको छ।

यसैगरी, शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन, भने उद्योग, व्यवसाय अन्तर्गतका मापदण्ड कार्यान्वयन नगरे कारबाही हुनेछ।

स्थानीय प्रशासनले  सभागोष्ठी, तालिम, सेमिनार नगर्न भनेको छ, भने पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना सञ्चालन गर्न पाइने छैन।

उद्योग व्यवसायले मापदण्डविपरीत श्रमिक ल्याउन पाउने छैनन् भने टेक वे बाहेक होटल, रेस्टुरेन्ट चलाउन पाइने छैन।

प्रकाशित मिति: : 2020-08-14 21:11:43

प्रतिकृया दिनुहोस्