सिन्धुपाल्चोकको लिदी पहिरोस्थलमा सेना पुग्यो, उद्धार जारी

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार बिहानको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यो खबर पाउनेबित्तिकै प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा घटनास्थल पुगेका छन्।

बिहान करीव ६ बजे बस्तीमाथिबाट पहिरो खस्दा लिदीमा ठूलो जनधनको क्षति पुगेको अनुमान गरिएको छ। 

प्रहरीका अनुसार कम्तिमा एक दर्जन घर पहिरोले पुरिएको छ। अहिले घटनास्थलमा नेपाली सेना पुगिसकेको छ। घटनास्थलमा रहेका वडा सदस्य विष्णु लामाका अनुसार अहिले पनि पहिरो खसिरहेको छ। अनुमान गरिएभन्दा धेरै मानवीय क्षति भएको छ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा चढेर आएको हेलिकप्टरले घटनास्थलमा उद्धारका लागि सेना उतारेको हो। घटनास्थल आएका उनले सदरमुकाम चौतारामा ओर्लेर त्यहाँबाट उद्धारका लागि सेना पठाएका हुन्। उनी पनि घटनास्थलमा जाने छन्। 

घाइते बोकेर आउने हेलिकप्टरले थप सुरक्षाकर्मी घटनास्थल लैजाने जिल्ला प्रहरीका डिएसपी माधव काफ्लेले जानकारी दिए। हालसम्म १० जनालाई घाइते अवस्थामा फेला पारिएकालाई उद्धार गरी सदरमुकाम चौतारा लगिएको काफ्लेले जानकारी दिए।

घटनास्थल दुर्गममा रहेको र पैदल हिँड्नु पर्दा समयमै सुरक्षाकर्मी पुग्न नसकेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष लामाले पहिरोमा धेरै बेपत्ता भएको बताए। केही परिवारै पहिरोमा हराइरहेको उनले बताए।
नेपाली सेनाको टोली घटनास्थल पुगेकाले क्षतिको बास्तविक विवरण केहीबेरपछि आउन थाल्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
सिन्धुपाल्चोकमा पहिरोले दर्जन घर पुर्‍यो, ठूलो मानवीय क्षतिको आशंका

प्रकाशित मिति: : 2020-08-14 11:00:03

प्रतिकृया दिनुहोस्