बेलारुसमा भएको घटनाप्रति युएन असन्तुष्ट, प्रतिबन्ध लगाउने ईयूको चेतावनी

बिएल संवाददाता

मस्को, बिएल युरोप ब्यूरो

बेलारुसमा चुनावको परिणामपछि उत्पन्न खराब परिस्थिति झन् बढेर गएको छ। पछिल्लो तीन दिनमा ६ हजार प्रदर्शनकारीलाई सरकारले पक्राउ गरेपछि विपक्षी नेता स्वेतलाना तिखानोब्सना देश छोडेर लिथवानिया पुगेकी छिन्। 

स्वेतलानाले युट्युव भिडियो सार्वजनिक गर्दै आफ्नो बच्चालाई ज्यानको खतरा भएको र लगातार धम्कीका कारण देश छोड्नु परेको बताएकी छिन्। स्वेतलानाका श्रीमान प्रजातान्त्रवादी थिए। उनले २६ वर्षदेखि राष्ट्रपति रहेका एलेक्जेन्डर लुकासेन्कोको नीतिको विरोध गरेका थिए। 

यसका कारण उनलाई जेलमा कोचिएको थियो भने आफ्नो श्रीमानविरूद्ध अन्याय भएको भन्दै पेशाले शिक्षिका रहेकी स्वेतलाना चुनावमा कुदेकी थिइन। 

सन् १९९४ देखि अनवरत राष्ट्रपति रहेका लुकासेन्कोले यसै साता भएको निर्वाचनमा आफ्नो पार्टीले ८० दशमलव २३ प्रतिशत मत प्राप्त भएको भन्दै पुनः सरकार बनाउने तयारीमा थिए। तर, स्वेतलाना र उनका समर्थकले चुनावमा धाँधली भएको भन्दै निर्वाचनको परिणाम घोषणा गरेको दिनदेखि नै राजधानीलगायत विभिन्न सहरमा जुलुश तथा धर्ना प्रदर्शन गर्दै आइरहेका छन्। 

लुकासेन्को युरोपका अन्तिम तानशाह मानिन्छन्। अहिले बेलारुसमा इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ। स्वेतलानालाई पनि गत सोमबार बन्दी बनाइएको थियो। तर, साँझ नै उनलाई छोडियो। 

बेलारुसको चुनावमा भएको धाँधली र हिंसात्मक प्रदर्शनलाई रोक्न सरकार असफल भएको भन्दै  युरोपेली महासंघ (ईयू) ले प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघले पनि यस कुरामा असन्तुष्टी जनाइसकेको छ। प्रदर्शनकारी माथि भएको झडपमा २ जनाको निधन भइसकेको छ। 

ईयूका विदेश मन्त्रीले समेत बेलारुसमा स्वतन्त्र तथा निस्पक्ष निर्वाचन नभएको दावी गरेका छन्। बेलारुस सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको थियो। लुकासेन्कोमाथि सन् २०११ मा पनि निर्वाचनमा धाँधली गरेको आरोप लगोको थियो। यतिबेला पनि ईयूले बेलारुसमा केही कुरामा नाकाबन्दी गरेको थियो। 

लिथवानिया पुगेकी स्वेतलानाले आफूले संघर्ष जारी राख्ने स्पष्ट सन्देश दिएकी छिन्। उनले ठूलो परिणाममा जनता सडकमा उत्रिएर विरोध गर्नुले त्यहाँ धाँधली भएको प्रमाणित भएको बताइन्।

प्रकाशित मिति: : 2020-08-13 07:08:26

प्रतिकृया दिनुहोस्