आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने

विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा यहाँको एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ।

हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला (केन्द्रीय खेलकूद प्रतिष्ठान) मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ । एक पटकमा एक सय जनासम्म सङ्क्रमितहरुलाई राख्न सकिने क्षमता भएको छात्रवासमा आइसोलेशन वार्ड स्थापनाका लागि तयारी थालिएको छ । 

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालगायतको टोलीले आइसोलेसन वार्डको निरीक्षण तथा अनुगमन गरेको छ ।

सो क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले कामलाई द्रूत र व्यवस्थित गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसारका अस्थायी संरचनाहरु निर्माण गरेर भएपनि चाँढोभन्दा चाढो काम गर्नुपर्ने बेला आएको बताए। उनले सरकार जसरी भए पनि महामारीको अवस्थालाई अन्त्य गर्न चाहने भन्दै सबै क्षेत्र र निकाय प्रतिवद्ध हुनुपर्ने धारणा राखे। उनले प्रदेशका सबै जिल्लामा रहेका आइसोलेशन तथा क्वारेन्टिनहरुलाई विद्यालयहरुबाट सारिने बताए। सामाजिक विकास मन्त्री युवराज दुलालले आसोलेसनलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिने बताउदै उपमहानगरपालिकालगायतले समेत साथ दिनुपर्ने धारणा राखे।
  
महामारीविरुद्धको अभियानमा युवाको भूमिकामा जोड 

मुख्यमन्त्री  पौडेलले महामारीविरुद्धको अभियानमा विजय हासिल गर्न युवाको पहलकदमी अति आवश्यक रहेको बताए। अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले युवा परिवर्तनका संवाहक तथा विकास र सिर्जनाका आधारशिला भएको बताए।

उनले युवाको समग्र विकास र नेतृत्वबिना समृद्धिको लक्ष्य पूरा गर्न नसकिने बताए। उनले देश र समाजमा देखापरेका चुनौतीहरुको सामना गर्दै युगलाई नेतृत्व गर्ने साहस युवामै हुने सन्देशमा उल्लेख गरेका छन्। ‘यतिबेला हामी विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीसँग सङ्घर्षरत छौं, यस महामारीविरुद्धको अभियानमा विजय हासिल गर्न पनि युवाको पहलकदमी अति आवश्यक छ, त्यसो त महामारीका कारण हजारौँ युवाले रोजगारी गुमाएका छन्, धेरै युवाहरु जोखिममा परेका छन्, यिनै सन्दर्भहरुलाई मध्यनजर गर्दै यस वर्ष ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस मनाइँदैछ’ पौडेलले सन्देशमा भनेका छन्।

मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ‘युवा सशक्तीकरण, सीप तथा उद्यमशीलताको विकास गरी देश निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्नेतर्फ नै वाग्मती प्रदेश सरकारका कार्यक्रम लक्षित गरिएको  छ, यसक्रममा युवा उद्यमीलाई प्रोत्साहन स्वरुप सहुलियतपूर्ण ऋण प्रदान गर्न रु तीन अर्बको कोष निर्माण गरिएको छ।’

कोषबाट कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी प्रवद्र्धन, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित उद्योगहरु, शैक्षिक कार्यक्रम,  लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहोरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण व्याजदरमा ऋण उपलब्ध गराइने उनको भनाइ छ।

उनले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसले आम युवालाई देश निर्माणका लागि थप उर्जा, आत्मविश्वास र प्रेरणा दिने विश्वाससहित पुनः सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-08-12 15:19:36

प्रतिकृया दिनुहोस्