वीरगञ्जको नागरिक समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको निर्देशन पालना गर्न आम नागरिकमा अपिल गरेको छ।
समाजका संयोजक डा. दिपक शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनावश्यक घर बाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न, निराशाजनक अभिव्यक्ति सम्प्रेषण नगर्न,कसैलाइ अनावश्यक दोषारोपण नगर्न, धैर्य भएर बस्न तथा आफू र आफ्नो परिवारको शारिरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरि सुरक्षाका उपायहरु अबलम्बन गर्दै संयमित रहन सबै सर्वसाधारणमा आग्रह गरिएको छ।
‘कोरोना भाइरसको संक्रमण समुदायस्तरमै पुगिसकेको यो अवस्थामा आमसर्वसाधारणलाइ जोगाउन अग्रपंतिमा रहेर २४ सै घण्टा क्रियाशिल चिकित्सक, स्वास्थकर्मी, सुरक्षाकर्मी, लगायत सबैप्रति उच्च सम्मान व्यक्त गर्दै, उच्च मनोवलका साथ काम गर्न विनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
समाजले साउन २५ गते नारायणी अस्पतालमा घटेको घटनाप्रति खेद र निन्दा व्यक्त गर्दै भविष्यमा यस्ता कानून विपरितका गतिविधि नगर्न सम्पूर्ण नागरिकमा अपिल गरेको छ।
समाजले यो चुनौतीपूर्ण घडीमा नागरिक समाजका प्रतिनिधिहरु सबै पक्ष सँग सकारात्मक कामका निम्ती सहयोग र समन्वय गर्न तत्पर रहेको बताएको छ। समाजले सघ ,प्रदेश तथा स्थानीय सरकारलाई आउने दिनमा काम गर्नकालागि बूदागत सुझाव समेत दिएको छ।
यस्ता छन् सुझाव–
१) जन्मदेखीनै निशर्त उपभोग गर्न पाउने जिवनसँग जोडिएको स्वास्थ सेवाको नैसर्गिक अधिकारको रक्षार्थ आजै देखी सबै सरकारी तथा नीजि अस्पतालले सुरक्षा सर्तकताकाको उचित व्यवस्था गरी (परिक्षणबाट कोभिड पोजेटिभ देखिने विमारीलाइ कोभिड अस्पतालमा रिफेर गर्ने प्रणालीको विकास गरी) निर्बाध रुपमा स्वास्थ उपचार हुने गर्नेव्यवस्था गर्न।
२) नारायणी अस्पताललाई सबै दृष्टीकोणले थप प्रभावकारी व्यवस्थापनका साथ तत्कालै जनरल अस्पतालको रुपमा संचालनमा ल्याउन।
३) कोभिड- १९ नियन्त्रणका सन्दर्भमा तिनै तहका सरकारहरुका विचमा आवश्यक समन्वय गर्न।
४) अस्पताल लगायत मानिसहरुको आवगमनरभिडभाड हुने सार्वजनिक स्थलहरुमा समय समयमा डिसइन्फेक्सन गर्न।
५) एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन।
६) मृत्यु पश्चात आफ्नो धर्म र सांस्कृति बमोजिम दाहसंस्कार गर्न पाउने अधिकारलाइ स्मरण गर्न र र स्थानीय नागरिकलाई मृत शरिरको दाहसंस्कारमा रोकछेक र अबरोध नगर्ने वतावरण बनाउन।
७) सीमानाकाबाट मानिसहरू भित्रिरहेको अवस्थाले जोखिम बढिरहने भएकाले निर्बाधरुपमा भइरहेको आवत जावत रोक्न र अति आवश्यक कामले नेपाल प्रवेश गर्ने व्यक्तीलाइ तोकिएको अबधी क्वारिन्टिनमा राख्न।
८) लकडाउन खुल्नासाथ पुनः गरिएको अनिश्चित कालिन निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसेकेका हुँदा त्यस्ता कमजोर र संकटासन्न व्यक्तिको जीवन रक्षाका लागि तत्कालै बिशेष राहत उपलब्ध गराउन।
९) दैनिक उपभोग्य सामग्रीको उत्पादन र आपुर्तिको सहज व्यवस्थापन गर्न।