एक दशक अघिसम्म ‘मसाला वाला’ हिन्दी मात्र होइन, नेपाली फिल्ममा पनि एउटा पटकथा खुब हिट हुने गर्दथ्यो। जसमा फिल्मको हिरो र हिरोइनको सानैमा बिछोड हुन्थ्यो। र, जवान भएपछि उनीहरू पुनः भेटिन्थे।
हामी विदेशमा बस्ने नेपालीका लागि यी फिल्म कुनै ‘परी’ को कथा भन्दा कम हुँदैन्थ्यो। तर, यस्तै एउटा साँच्चिकैको घटना अहिले अमेरिकाको न्युजर्सीमा घटेको छ। रमाइलो कुरा, २८ वर्षपछि एउटा जोडीबीच पुनर्मिलन भएको हो।
जेनेट फेनर र ग्रेगोली डाबिसबीच सन् १९९२ मा मोन्टक्लेयर स्टेट विश्वविद्यालयको फुटबल मैदानमा अन्तिम पल्ट भेट भएको थियो। यसपछि उनीहरू अलग भएका थिए। तर, यसको २८ वर्षपछि उनीहरूको पुनः भेट त्यही मैदानमा भयो र गत शनिबार एकअर्कासँग सुनको औंठी साटासाट गरेर विवाह गरे।
उनीहरूको विवाहको साक्षी कलेजका केही विधार्थी शिक्षकहरू भए। विश्वविद्यालयको प्रहरी प्रमुख पाउल सेलको उपस्थितिमा भएको यो विवाहमा विश्वविद्यालयका अध्यक्ष सुसान कोल पनि समावेश थिए।
कोरानाका कारण समाजिक दूरीलाई निकै महत्व दिइएको यो विवाहमा यी दम्पत्तिबाट बेग्लाबेग्लै जन्मिएका सात सन्तान पनि उपस्थित थिए। बेहुला बनेका ग्रेग रिभरडालस्थित कार्ल सेथल साभा उद्योगमा खरिद निर्देशकको रूपमा कार्यरत छन्। उनी ब्लुमफिल्डमा हुर्किएका थिए। जेनेट भने नर्थ बर्गेनमा एउटा मार्केटिङ कम्पनी चलाएर बसेकी थिइन। कलेजमा अध्ययनरत रहँदा उनीहरूले कहिल्यै ‘डेटिङ’ गरेनन्।
कलेजमा ग्रेग खेलकुदमा बढी ध्यान दिन्थे। जेनेट सुन्दर थिइन र मोडलिङमा उनको अभिरुची थियो। उनले स्कुलमा केही पुरस्कार पनि जितेकी थिइन। ग्रेगले विहेपछि खुलासा गरेका थिए, उनी जेनेटलाई पहिलेदेखि नै मन पराउँथे। तर, भन्न सकिरहेका थिएनन्।
अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेपछि केही फुर्सदीला भएका यी जोडीले अतितका थुप्रै पन्ना पल्टाए। संयोगले यी दुबैको आफ्नो पहिलेको जोडीसँग सन् २०१६ मा डिभोर्स भएको थियो। गत वर्षदेखि जेनेट सोसल मिडियामा अर्को जोडिको खोजी गरिरहेकी थिइन। यतिबेला उनले ‘डेटिङ एप’ मा ग्रेगको फोटो देखिन्।
सुरुमा त उनी केटाकेटीसँग ग्रेगले खिचेको फोटो देखेर अलमलिएकी थिइन। तर, धेरै अनुसन्धानपछि उनी निस्कर्षमा पुगिन्। पक्का हुन उनले ग्रेगको नाताका एक भाईलाई फोटो समेत पठाएकी थिइन। उनले हो भनेपछि जेनेटलाई लामो समयदेखि हराएको सामान भेटिए जस्तो भयो।
२८ वर्षपछि पुनः भेटिएका ग्रेगको उमेर ५० वर्ष पुगिसकेको छ भने जेनेट ४५ वर्षमा छिन्। ग्रेगको पहिलो श्रीमतीबाट १० देखि १७ वर्षसम्मका पाँच सन्तान छन्। जेनेटको १४ र १८ वर्षका दुई छोरा छन्।