मैले डिप्रेशनको बारेमा एउटा छुट्टै अध्याय लेख्ने बिचार गरें । डिप्रेशन नेपालमा ठूलो समस्याको रुपमा देखा पर्दैछ र यसले हरेक उमेर, समूह र लिङ्गलाई असर गरेको छ । यो लेख युवाहरुमा केन्द्रित छ ।
नेपालको जनसंख्याको झण्डै चालिस प्रतिशत १८ बर्ष मुनिका बालबालिका र किशोर किशोरीहरु छन् । यो उमेर समुहको स्वास्थ्य समस्या मध्ये डिप्रेशनले अचेल महत्वपूर्ण स्थान ओगट्न लागेको छ । नेपालमा १० जना युवा मध्ये एक या दुइजनालाई डिप्रेशनले पिरोलेको छ भन्ने अनुमान छ । सामान्य चिन्ता, नरमाइलो, दुःख जस्ता अनुभवहरु कुनैपनि उमेर समुहका व्यक्तिमा देखा पर्नु स्वाभाविक हो ।
चाहेको कुरा नपाउँदा दुःख लाग्छ, आफूलाई या आफ्ना प्रिय कसैलाई कुनै शारीरिक अस्वस्थता या चोटपटक लागेमा चिन्ता लाग्छ, आफ्ना प्रियजनसँग छुट्टिनुपर्दा नरमाइलो लाग्छ, कुनै सम्बेदनशील सिनेमा हेर्दा या कथाहरु पढ्दा आँसु समेत आउँछ । यी मानव मात्रका स्वभावहरु हुन् । यस्ता कुराहरु अनुभव गर्न सक्ने मानवीय गुणले हामीलाई समृद्ध पारेर समाजमा, परिवारमा घुलमिल गरी रहन सम्भव बनाएको हुन्छ । मानिसले यदाकदा यस्ता अनुभब गर्दा डिप्रेशन भनिँदैन ।
डाक्टरी भाषामा डिप्रेशन भन्नाले मानिसको “मूड” को अस्वस्थताको अवस्था हो जसमा दुःख, चिन्ता र यस्तै अन्य सम्बेगात्मक भावनाहरु लामो समयसम्म रहन्छन् र तिनले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न थाल्छन् ।