नेशनल मेडिकल कलेजलाई ३ सय बेडको कोभिड अस्पताल बनाउने निर्णय

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेसनल मेडिकल कलेज वीरगञ्जलाई कोभिड-१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

गण्डक कोभिड बिशेष अस्पताल र वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको बेड संख्या प्रयाप्त नभएपछि संक्रमितहरुको उपचारका लागि नेशनल अस्पताललाई ३ सय बेडको कोभिड अस्पताल बनाउन सरकार समक्ष सिफारिस गरिएकाे हाे।  

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले मेडिकल कलेज उपयुक्त देखिएकाले उक्त अस्पताललाई कम्तिमा ३ सय बेडको कोभिड-१९ अस्पतालको रुपमा सञ्चालन गर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भई आकास्मिक बाहेकका नियमित सेवा अवरुद्ध भएकोले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अनुरोध गरिएकाे छ।

बैठकले पर्सा जिल्ला बाहिरपनि कोरोना संक्रमण देखापर्न थालेको हुँदा ग्रामिण क्षेत्रबाट वीरगञ्ज ल्याएर संक्रमितको उपचार गर्न कठिनाई हुने भएकाले जटिल लक्षण भएका संक्रमितहरुलाई मात्र अस्पतालमा ल्याउन आग्रह गरेकाे छ। 

यस्तै लक्षण नभएका तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई सम्बन्धित स्थानिय तहले नै सामुदायीक आइसाेलेसन सेन्टर स्थापना गरी व्यवस्थापन गर्न लगाउने निर्णय गरेको सहायक प्रजिअ बस्नेतले बताए।

बैठले नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखालाई स्वास्थ्य र सुरक्षा सम्बन्धी प्रोटोकलहरुको पालना हुने गरी अति आवश्यक सेवा प्रवाहमा असर नपर्ने गरी न्यूनतम रुपमा भए पनि बैंकिङ सेवा प्रवाहको व्यवस्था मिलाउन लगाउने र खाद्य तथा किराना पसलहरु समेत स्वास्थ्य र सुरक्षाको सबै शर्त र मापदण्डको अनिवार्य रुपमा पालना गर्ने शर्तमा भिडभाड नहुने गरी उचित समयमा खोल्न दिने निर्णय भएको छ।

यस्तै बैठकले वीरगञ्जमा आजबाट सुरु भएका ४ वटा सामुदायीक आइसाेलेसन सेन्टरहरुमा खाना, नास्ता लगायतका व्यवस्थापकीय खर्चको लागि स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2020-08-08 17:06:45

प्रतिकृया दिनुहोस्