नेकपाभित्रको एकताका लागि ‘गौतमसूत्र’ भन्दा उपयुक्त अर्को कुनै प्रस्ताव आवश्यक पर्दैन
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अडानविपरीत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १३ मा बालुवाटारमा केही स्थायी समिति सदस्यको भेला गरिरहँदा उपाध्यक्ष वामदेव गौतम भने सहमतिको सूत्र पहिल्याउँदै हुनुहुन्थ्यो । उक्त भेला खुमलटार भेलाकै निरन्तरता थियो, त्यसैले सहमतिसँग त्यसको साइनो थिएन । रामबहादुर थापा, जनार्दन शर्मा, लेखराज भट्ट, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, गणेश शाह, मणि थापालगायतले दुई अध्यक्षको सहमति नै समाधान भनिरहँदा पूर्वएमालेका केही नेतामा आक्रोश उत्पन्न हुन्थ्यो । ‘समन्वयकारी’ माधवकुमार नेपाल एकताको भावना र मर्मविपरीत बहुमतीय बलमा समाधान देखिरहनुभएको छ, जुन सत्य होइन ।
वर्तमान नेतृत्वलाई स–सम्मान बिदाइ गरी दोस्रो पुस्तामा नेतृत्व ल्याउन हस्तक्षेपकारी भूमिका खेल्ने ठानिएका केही युवा एकताका लागि
‘एक्सन’मा उत्रिनुभएका गौतमलाई सहमतिको प्रस्ताव फिर्ता लिन दबाब दिन निवास पुग्छन् । र, फेरि दाबी गर्छन्– पार्टी एक हुनुपर्छ । गौतमको जवाफबाट उनीहरू निराश भएको हुनुपर्छ । विभाजनउन्मुख भएको आरोप प्रत्यारोपबीच गौतमले ल्याएको छबुँदे प्रस्ताव बहसमा छ । प्रधानमन्त्री ओलीले औपचारिक टिप्पणी नगरे पनि उहाँका उपनेता सुवास नेम्वाङले गौतमको प्रस्ताव सहमतिको आधार बन्न सक्ने बताउनुको अर्थ स्वीकारिएको लाग्छ ।