बुबाले ६७ वर्षअघि तोड्नु भएकाे नाता जोड्न पाउँदा अपार हर्ष र खुशी लागेको छ: नेता थापा

हालै राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाले बुबा सूर्यबहादुर थापाले ६७ वर्षअघि तोडेको नाता आफूले जोड्न पाउँदा अपार हर्ष र खुशी लागेको बताएका छन्।

मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले भने, ‘२००८ सालमा बुबा मोरङ कांग्रेसको कोषाध्यक्ष तथा २०१० मा धनकुटा कांग्रेसको सभापति हुनुहुन्थ्यो। त्यसपछि भने कांग्रेससँग सम्बन्धबिच्छेद गरेर बुबा फरक बाटो लाग्नु भएका हुन्।’ 

उनले आफ्नो बुबाले लोकतान्त्रिक शक्तिको बृहद मोर्चाको कल्पना गरेको र त्यो कांग्रेसबाटै सम्भव भएको पनि बताए।

‘बुबाले लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउनु भएको थियो,’ उनले भने,‘पूरानो पार्टी राप्रपा बुबाले खनेको बाटोबाट च्यूत हुँदै गएकाले म कांग्रेसभित्र घुलित हुने निर्णय गरेको हुँ।’

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको नेता थापाले बताए।

सो क्रममा उनले राप्रपाभित्र असन्तुष्ट धेरै नेता कार्यकर्ता भएको भन्दै उनीहरुलाई पनि क्रमशः कांग्रेसमा प्रवेश गराइने बताए। आज नै धेरै नेता कार्यकर्ताले कांग्रेस प्रवेश गर्ने चाहनामा राखेपनि कोरोनाको संत्रासका कारण सम्भव हुन नसकेको उनले दावी गरे।

‘आज पनि जिल्ला जिल्लाबाट साथीहरुले फोन गरेर तपाई किन एक्लै जानु भयो? हामी पनि जान्थ्यौ भनेर भन्नु भयो। कार्यसमितिको बैठक गरेर राप्रपा त्याग गरेकालाई बिस्तारै कांग्रेस प्रवेश गराउछु,’ उनले भने। 

थापालगायतका नेता कार्यकताहरुलाई  कांग्रेस सभापति शेरबहादुर देउवाबाट कांग्रेसको सदस्यता ग्रहण तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले स्वागत गरेका थिए।

थापालगायतलाई स्वागत गर्दै देउवाले नवप्रवेशीको पार्टीमा उचित मूल्यांकन हुने बताए। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपाले प्रतिगमनको बाटो रोजिरहेको बेला थापालगायत अग्रगमनको चाहनासहित कांग्रेसमा प्रवेश गरेकामा धन्यवाद दिए। 

प्रकाशित मिति: : 2020-07-28 17:47:54

प्रतिकृया दिनुहोस्