मध्य दिनमा अमृतले फोन उठाए, हेल्लो भन्दा उनको सास बढिरहेको थियो। उनी स्वाँस्वाँ गर्दै थिए।
जंगलबाट घर फर्किँदै रहेछन्। पृष्ठभूमिमा चराचुरुङ्गीको चिरबिर सुनिन्थ्यो। उनको गाउँ पुम्दिभुम्दी खेतबाट झण्डै ४ किलोमिटर माथि थुम्कामा पर्छ।
यिनी ती अमृत हुन्, जो ‘नेपथ्य’ को जोसिलो कन्सर्ट भइरहने मञ्चको बिचमा उभ्भिएर माइकबाट लेग्रो तान्दै भन्छन्, ‘के छ हो…. ई !’
संगीतलाई कर्म बनाएर परिचय खोज्दै उनी २७ वर्ष अगाडि यो क्षेत्रमा आएका थिए। पोखराबाट तीनजनाको समूह बनी काठमाडौँ छिरेको अमृतको ब्यान्डको पहिलो एल्बम ‘नेपथ्य’ १९९३ को अप्रिल १ मा सार्वजनिक भयो। यो व्याण्डले बनाएको गीतले संगीतप्रेमीको मनमा बिछट्टै फरक स्वादको बिउ रोपेको थियो।
अहिले हुर्किरहेको युवा पुस्ता पनि ‘छेक्यो, छेक्यो देउराली डाँडा’, ‘हिमाल चुचुरो’, ‘रेशम’ जस्ता गीत सुनेर हुर्किए। अहिलेका युवाको मनमा पनि ‘नेपथ्य’ जमेर बसेको छ। यसको प्रमाण ‘नेपथ्य’ को कन्सर्टमा छर्लङ्ग देखिन्छ। संगीतको धुन, ताल अनि शब्दले थाहा नपाई तरंगित बनाउँदै खुट्टा बजार्न मन लगाउँछ। नेपथ्यको गीत जसको कानमा बजेको हुन्छ, मनसँग पुगेको हुन्छ भन्दा अत्युक्ति नहोला । मुटु छुने गीत बनाउने टोलीका नाइके ‘अमृत’ प्रस्तुतिमा पनि ‘अमृत’ जसरी पोख्खिन्छन्। एकदमै बिन्दास, पूर्ण रुपमा समर्पित।