पाँच वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति ?

मंगलबार पाँच वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले साउन ६ गते मंगलबारदेखि लागू हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेका हुन्।

सोमबार पनि लक्ष्मी र सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका थिए।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन भनेपछि पछिल्लो समय सबैजसो बैंकहरुले बचत खाताको ब्याजदर पनि घटाउन थालेका हुन्।।

एभरेष्ट बैंक

एभरेष्ट बैंक (EBL) ले साउन ६ गतदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले १६ प्रकारका बचत खातामा ३.५० प्रतिशत र ८ प्रकारका बचत खातमा ५ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस्तै बैंकले साधारण मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० देखि ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५० देखि ६.५० प्रतिशतसम्म ब्याज दिने भएको छ।
बैंकले व्यक्तिगततर्फ ३ महिने निक्षेपमा ६.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ७ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

बैंकले संस्थागततर्फ ३ महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

बैंकले संस्थागत बल्क फिक्स्ड डिपोजिट र स्पेशल फिक्स्ड डिपोजिटमा ६.५० प्रतिशत ब्याज दिनेछ। यस्तै डलर खतामा १ देखि २ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यस्तै ईबीएल प्लानमा ७.२५ प्रतिशत र कल डिपोडिजमा २ प्रतिशत ब्याज दिनेछ।

कर्जातर्फ बैंकले आधार ब्याजदरमा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत प्रिमियममा कर्जा प्रवाह गरिने जनाएको छ। कर्पोरेट, साना मझौला कर्जा र अन्यमा रेटिङ्ग अनुसार न्यूनतम १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप हुने उल्लेख छ।

बैंकले ब्याजदरमा हुने उतार चढावको जोखिमका लागि ०.७५ प्रतिशत र ३ देखि ५ वर्ष अवधिको १.५० प्रतिशत चार्ज लाग्ने जनाएको छ। असार मसान्तमा बैंकको आधार ब्याजदर ८.०५ प्रतिशत र स्प्रेडदर ३.५९ प्रतिशत रहेको छ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंक (GBIME) ले साउन ६ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदर परिवर्तन गरेको छ। बैंकको अनुसार साना तथा मझौला ब्यसायका लागि प्रवाह हुने कर्जामा आधार ब्याजदरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा लगानी गरिने उल्लेख छ।

बैंकले ओभरडाफ्ट, ट्रूट रिसिप्ट। प्याकिङ्ग क्रेडिट। क्उास क्रेडिट। एसटिएस, फिक्स्ड टर्म लोन। प्रोजेक्ट लोन। बैंक ग्यारेन्टी लोनमा तथा अटो लोन र शेयर धितोमा गरिने कर्जामा यो ब्याजदर लागू हुने जनाएको छ।

बैंकले १५ लाख रुपैयाँसम्मको ग्लोबल कृषि कर्जामा आधार ब्याजदरमा २ प्रतिशतमा कर्जा उपलब्ध गराउने जनाएको छ। प्रवाह गरिएको कर्जा असुली नभई बाचलिस्टमा परेको खण्डमा २ प्रतिशत ब्याजदर बढाइने बैंकले जनाएको छ।

बैंकको आधार ब्याजदर असार मसान्तमा ८.४२ प्रतिशत रहेको छ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डू (BOKL) मंगलबारदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ। बैंकले ३ महिने निक्षेपमा ५.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ६.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

संस्थागत मुद्दती निक्षेपतर्फ ४.५० देखि ६.५० प्रतिशत मात्रै ब्याज प्रदान गर्ने भएको छ। बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ५.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

यस्तै बैंकमा हाल मुद्दती निक्षेपमा बचत राखिरहेका संस्थाहरुले पुन बैंक अफ काठमाण्डूमा मुद्दती निक्षेप नवीकरण गर्न चाहेमा माथि निर्धारण गरिएको ब्याजदरमा थप ०.१० प्रतिशत ब्याजदर प्रदान हुने जनाएको छ।

यस्तै बैंकले २ देखि १० वर्ष अवधिसम्ममा रिकरिङ्ग डिपोजिट र १ देखि १० वर्ष अवधिको किसान बैंकिङ्ग सेवा (रिकरिङ्ग डिपोजिट) मा समान ६ प्रतिशत ब्याज दिने जनाएको ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक (PCBL) ले पनि आजबाट लागू हुने गरी स्वदेशी निक्षेपको ब्याजदर परिमार्जन गरेको छ।

बैंकको नयाँ ब्याजदर अनुसार ७ वटा बचत खातामा समान ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । जसमा प्राइम ज्येष्ठ नागरिक बचत खाता, स्टाफ सेभिङ्ग, प्राइम गोल्ड एडभान्टेज, प्राइम सुरक्षित बचत खाता, प्राइम जनरल पे रोल अकाउण्ट, प्राइम सुपर म्याक्स बचत खाता र प्राइम नारी बचत खातामा ५ प्रतिशत ब्याज दिने भएको हो।

यी ७ वटा खाता बाहेकका अन्य सबै बचत खातामा ३ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ।

एनसीसी बैंक

एनसीसी बैंक (NCCB) ले पनि साउन ६ गतेदेखि लागू हुने गरी मुद्दती खाताको ब्याजदर परिवर्तन गरेको छ।

बैंकका अनुसार बैंकमा मुद्दती निक्षेप राख्ने बचतकर्ताले अधिकतम ८.२५ प्रतिशत ब्याजदर पाउनेछन्। संस्थागत बचतकर्ताले ७ प्रतिशत र यसअघि मुद्दती बचत राखिरहेका संस्थाले पुन मुद्दती बचत नवीकरण गर्न चाहेमा ०.१० प्रतिशत थप गरी ७.१० प्रतिशत ब्याज पाउनेछन्।

बैंकमा ३ महिनादेखि ५ वर्षको मुद्दती बचत राख्न सकिने बैंकले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-21 12:18:21

प्रतिकृया दिनुहोस्