राहुल गान्धीको अर्को आरोप– भारतीय प्रधानमन्त्रीले चीनसँग आत्मसमर्पण गरिसके

विपक्षी कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुलट्ठी व्यवहारका कारण चीनले भारतको जमिनमा कब्जा जमाएको आरोप लगाएका छन्। 

राहुलले भारतीय जनता पार्टी (भाजपा) को सरकारमाथि आरोप लगाउँदै शनिबार अर्को ट्वीट गरेका छन्, ‘भारत सरकारको डरछेरुवा कार्यवाहीका कारण देशले ठूलो मूल्य चुकाउनु पर्नेछ।’

सीमा विवादलाई लिएर राहुल सुरुदेखि नै प्रधानमन्त्री मोदीविरूद्ध आक्रामक छन्। उनले चीनको अगाडि आत्मसमर्पण गरेको आरोपसमेत लगाएका छन्। राहुलले भने, ‘चीनले हाम्रो जमीन हत्याईसकेको छ तर भारत सरकार चेम्बरलेन (बेलायतका पूर्व प्रधानमन्त्री) जस्तै व्यवहार गरिरहेको छ। यसले चीनको मनोबललाई अझै बढाउने छ।’

राहुलले रक्षा मन्त्री राजनाथ सिंहको एउटा भिडियो पनि पोस्ट गरेका छन्। जुन भिडियो रक्षा मन्त्रीको दुई दिने लद्दाख भ्रमणको थियो। यसमा उनी भनिरहेका थिए, विश्वको कुनै शक्तिले हामीसँग हाम्रो एक इन्ची जमिन हत्याउन सक्दैन। उनले त्यही भिडियोमा कुराकानीको माध्यमबाट समस्याको समाधान निस्किनेमा कुनै ग्यारेन्टी नभएको बताएका थिए।

राहुलले केन्द्र सरकारको तुलना बेलायतका पूर्व प्रधानमन्त्री नेभिल चेम्बरलेनसँग गर्नुको कारण थियो– दोस्रो विश्व युद्धलाई रोक्न चेम्बरलेन जर्मनी तानाशाह हिटलरलाई भेट्न गएका थिए। हिटलरसँगको भेटघाटपछि चेम्बरलेनलाई लागेको थियो, जर्मनीले अब चेकोस्लोभाकियामाथि हमला गर्दैन। तर, उनी भेटेर आएको केही समयमै हिटलरले युगोस्लाभियामाथि हमला गरे। यसपछि दोस्रो विश्व युद्धको सुरुवात भएको थियो। 

राहुलले शुक्रबार मात्र प्रधानमन्त्री मोदीले सन् २०१४ देखि लगातार एकपछि अर्को ठूलो गल्ती गर्दै गइरहेको बताए। यसले देश कमजोर भएको उनको आरोप छ। राहुलले चीन मुद्धामा तीन वटा प्रश्न उठाएका छन्। 

१. चीनले अतिक्रमणका लागि यही समय किन छनोट गर्यो?
२. भारतको अवस्थामा त्यस्तो के छ, जसको कारण चीन आक्रामक भयो?
३. यति बेला विशेष के छ, जसका कारण चीन विश्वस्त भयो कि उसले भारतविरूद्ध हमला गर्न सक्छु ठान्यो। 

राहुलले नेपालसँगको सदियौंदेखिको सम्बन्ध कमजोर बनाउन पनि मोदी सरकारको हात भएको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2020-07-19 10:20:24

प्रतिकृया दिनुहोस्