देउवालाई महाधिवेशनमा प्रभाव पार्ने काम तत्काल रोक्न पौडेल समूहको चेतावनी

नेपाली कांग्रेसको संस्थापन इतर समूहहरूले सभापति शेरबहादुर देउवाले चौधौं महाधिवेशनको प्रक्रिया शुरू भएपछि पनि पार्टीका विभिन्न विभागमा मनोनयन गरेको भन्दै नमान्ने चेतावनी दिएका छन्।

बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले सभापति देउवालाई बोधार्थसहित निर्वाचन समितिलाई संयुक्त ध्यानाकर्षण पत्र लेख्दै विधान र निर्वाचन आचारसंहिता उल्लंघन भएकाले उक्त निर्णय नमान्ने चेतावनी दिएका हुन्।

उनीहरुले निर्वाचनको सामान्य मान्यता र आचारसंहिता विपरीत भइरहेका नियुक्ति आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेकाले तत्काल नियुक्तिको काम रोक्न र बदर गर्न ध्यानाकर्षण गराएका छन्।

“नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महीनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महीनामा लागिसकेको छ," विज्ञप्तिमा भनिएको छ "पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका दोहोर्‍याएर समेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ । पार्टीको विधानको धारा ६० मा पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग समिति विभिन्न निकायहरुको महाधिवेशन सम्पन्न भएको ६ महीनाभित्र गठन सरिसक्नुपर्नेछ भन्ने बाध्यात्मक व्यवस्था भएको र बारम्बार ध्यानाकर्षण गराउँदा पनि विभिन्न विभागमा अहिले गठन गर्ने र सदस्यहरु मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो घोर आपत्ति छ।" 

उनीहरुले आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै विधान र निर्वाचन आचारसंहिता विपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ता तथा शुभेच्छकलाई आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: : 2020-07-16 17:48:46

प्रतिकृया दिनुहोस्