न्युयोर्क टाइम्सबाट सुरु भएको एउटा बहस

एरिक वेम्पल

जुन ३ मा न्युयोर्क टाइम्सले अरकान्सस राज्यका सिनेटर टम कटनको एक लेख छाप्यो । ‘सेन्ड इन द ट्रुप्स (सेना पठाऊ)’ शीर्षकको लेखमा रिपब्लिकन पार्टीका सिनेटर कटनले अमेरिकाको ‘इन्सरेक्सन एक्ट’ लागू गरेर सेना परिचालन गर्नुपर्ने तर्क गरेका थिए । जर्ज फ्लोयडको हत्यापछि अमेरिकाभर फैलिएको प्रदर्शनका सन्दर्भमा कटनले प्रदर्शनकारीविरुद्ध सेना परिचालन गर्नुपर्ने पक्षमा लेख लेखेका थिए । तर, प्रदर्शनकारीविरुद्ध सेना परिचालन गर्नुपर्ने माग गरिएको कटनको लेख छापिएलगत्तै आलोचनाको तारो बन्यो । लेख प्रकाशित गर्ने न्युयोर्क टाइम्ससमेत विवादमा तानियो । आलोचकले लेखले फासीवादी एजेन्डा अघि सारेको आरोप लगाउँदै उदारवादी मानिने न्युयोर्क टाइम्सले लेख छापेर गल्ती गरेको बताए । 

न्युयोर्क टाइम्सभित्र पनि लेखको विरोध भयो । पत्रिकाका आठ सयभन्दा बढी स्टाफले एक पत्रमा हस्ताक्षर गर्दै कटनको लेखको प्रकाशन गर्ने कार्यको विरोध गरे । लेख प्रकाशनलगत्तै विरोध सुरु भएपछि न्युयोर्क टाइम्स पत्रिकाको विचार शाखाका सम्पादक जेम्स बेनेटले ट्विटरमा लेख छाप्ने निर्णयको प्रतिरक्षा गरे । टाइम्सका प्रकाशक एजी सुल्जवर्गरले बेनेटको प्रतिरक्षामा भोलिपल्ट बिहान (जुन ४मा) पत्रिका कर्मचारीलाई एक मेमो पठाए, जसमा कटनको लेख प्रकाशन गर्ने निर्णय सही रहेको बताइएको थियो । प्रकाशकको समर्थन पाएर उत्साहित भएका बेनेटले लेख छाप्ने निर्णयको प्रतिरक्षामा थप कडा शब्दमा ट्विट गरे । तर, टाइम्स पत्रिका केही घन्टाभित्रै अघिल्लो निर्णयबाट पछि हट्यो । ‘हामीले (टम कटनको) लेख र उक्त लेख छापिन प्रयोग भएको प्रक्रियाको जाँच गर्‍यौँ । छानबिनका क्रममा सम्पादकीय प्रक्रियामा भएको हतारोले हाम्रो मापदण्ड पूरा नगरेको लेख छापिने अवस्था उत्पन्न भयो । परिणामस्वरूप हामीले केही अल्पकालीन र केही दीर्घकालीन परिवर्तन गर्ने योजना बनाएका छौँ । सुधारमा तथ्य जाँच्ने संयन्त्र विस्तार गर्ने र हामीले प्रकाशित गर्ने लेख घटाउने कुरा पनि समेटिएको छ,’ टाइम्सले जुन ४ मध्याह्न जारी गरेको वक्तव्यमा भनिएको थियो । बिहान प्रकाशकले स्टाफलाई पठाएको मेमोमा कटनको लेख ‘विचारको विविधतालाई समेट्ने सिद्धान्त’अन्तर्गत छापिएको भनिएकोमा केही घन्टाभित्रै कसरी त्यो पत्रिकाको मापदण्ड नपुर्‍याएको लेखमा गनिने स्थिति उत्पन्न भयो ? 

प्रकाशित मिति: : 2020-07-16 08:11:19

प्रतिकृया दिनुहोस्