प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ६६ करोड छैन: सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर (६६ कराेड) जम्मा रहेको कुरा शतप्रतिशत गलत रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तथाकथित यो रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्टिकरण दिएका छन्।

‘ग्लाेबल वाच एनालाइसिसकाे हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ। स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु,’ प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

उनले संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको नेतृत्व सम्हालिरहेकाे बेला बदनाम गराउन सुनियोजित षडयन्त्र रचिएकाे समेत दावी गरेका छन्।

सचिवालयले भनेकाे छ, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट रहेको छ।’

सचिवालयले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न समेत माग गरेकाे छ।

‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूकाे रवैया खेदजनक छ। र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु’, सचिवालयले भनेकाे छ।

ग्लोबल वाच एनालिसिसमा लेखेको एक लेखमा पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली  उनकी पत्नी राधिका शाक्यले अकूत सम्पत्ति आर्जन गरेको र त्यो स्वीस बैँकमा थुपारिएको दाबी गरिएको छ।

ओली र उनकी  शाक्यको संयुक्त रुपमा रहेको यो खातामा करिब ५५ लाख अमेरिकी डलर अर्थात करिब ६६ करोड रहेको दावी गरिएकाे छ। जुन लामो समयका लागि बचत र सेयरमा लगानी गर्नका लागि राखिएको जनाइएकाे छ। ओलीले बैंकबाट प्रत्येक वर्ष स्वास्थ्य उपचारका लागि भनेर करिब ५ लाख अमेरिकी डलर पाउने गरेका पनि उल्लेख गरिएकाे छ।

यता टाइम्स अफ इन्डियामा प्रकाशित एक समाचारअनुसार रोलाँ ज्याकर्डले लेखेको उक्त लेखमा चिनियाँ पक्षसँग मिलेर ओलीले धेरै बिजनेस डिलहरु गरेको दावी गरिएको छ।

उक्त लेखका अनुसार अघिल्लो प्रधानमन्त्रीत्व कालमा प्रधानमन्त्री ओलीले सन् २०१५ र १६ मा तत्कालीन चिनियाँ राजदूत उ चुन्ताइँगको सहयोगमा कम्बोडियाको टेलिकम क्षेत्रमा लगानी गरेका थिए।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन र तत्कालीन नोम्पेन्हका चिनियाँ राजदूतको सहयोगमा केपी ओलीका तत्कालीन विश्वासप्राप्त आङ छिरिङ शेर्पाले उक्त डिल तय गरेको समाचारमा उल्लेख छ।

उक्त रिपोर्टका अनुसार सन् २०१८ को डिसेम्बरमा चाइना कम्युनिकेसन सर्भिस चिनियाँ टेलिकम कम्पनी हुवावेको एजेन्टले ओली भिडियो कन्फेरेन्सिङ सुविधा डिजिटल एक्सन रुम निमार्णको ठेक्का पाएको थियो। जबकि नेपाल टेलिकम नै यो काम गर्न सक्थ्यो।

 पछि अनुसन्धानबाट ओलीका सल्लाहकार विष्णु रिमालका छोराले यो सम्झौतालाई अघि सारेको खुलेको थियो। उनले यो ठेक्काबाट कयौं रुपैयाँ फाइदा लिएको खुलेको उक्त रिपोर्टले उल्लेख गरेको छ।

चिनियाँ कम्पनीहरुसँग यसपछि पनि १९ अर्ब नेपाली रुपैयाँबराबरको डिल छलफलबिनै दिइएको पनि रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-07-15 09:36:54

प्रतिकृया दिनुहोस्