हरेक पूर्णिमाको मौका पारेर लालबन्दी जानकीनगर गाउँका बासिन्दा नेपालको जनकपुरधाममा पूजाआजाका लागि जाने गर्थे। यसमा विशेषत पाका उमेरका व्यक्ति, महिला तथा केटाकेटी हुने गर्थे। यहाँको वासिन्दालाई यो पनि थाहा छैन, यो परम्परा कहिलेदेखि सुरू भएको हो। तर, यसपालि यो क्षेत्रका वासिन्दाले पूर्णिमामा नेपाल प्रवेश गर्ने हिम्मत पनि देखाउन सकेनन्। उनीहरूलाई डर छ, नेपाली सुरक्षाकर्मीले फेरि गोली चलाउने हुन् कि भनेर। त्यसैले यसपालि सदियौंदेखिको परम्परा भंग भएको छ।
यो त्यही ठाउँ हो, जहाँ लालबन्दी गाउँका एक युवालाई नेपाली सशस्त्र सीमा सुरक्षाकर्मीले जुन १२ मा गोली हानेका थिए। जसका कारण उनको घटनास्थलमै निधन भएको थियो।
यो गाउँदेखि नेपालको सीमा आधा किलोमिटरको दूरीमा पर्छ। वर्षोदेखि गाउँका मानिसहरू पैदल, साइकल र बाइक बोकेर यताउती गर्ने गर्थे। सधै सीमा खुला हुन्थ्यो। चेक पोस्टको नाममा केही थिएन। सीमामा सुरक्षाकर्मी तैनाथ हुन्थे तर उनीहरूले कहिल्यै एकअर्कालाई यताउती आउनजान रोकेनन्। अब अवस्था फेरिएको छ।
लालबन्दीको महिला पनि डराएका छन्। यसमा धेरै जसो नेपाली छन्, जो विवाह गरेर भारतीय भएका हुन्। यो गाउँको हरेक दोस्रो घरमा नेपाली युवती बिहे गरेर आएका छन्। सयभन्दा बढी घरमा नेपाली युवतीको बिहे भएको छ। उनीहरू वर्षोदेखि आफ्नो माइती घर जाने आउने गरिरहेका थिए। तर, गत महिना भएको तनावका कारण भाइहरू आफ्नो बहिनी तथा बहिनीहरू आफ्नो आमा–बुवालाई भेट्न पाइरहेका छैनन्।
सीमामा भएको घटनाका कारण २३ वर्षका विकेशको निधन भएको थियो। यहाँका ग्रामीण वासिन्दा भन्छन्, नेपालसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ तर गोलीका कारण नेपाल जान डर लागिरहेको छ।
स्थानीय शैलेन्द्र कुमार यादव भन्छन्, ‘जुन दिन गोली चल्यो। त्यसपछि सीमातर्फ गएका छैनौं। घटना हुनुभन्दा अघि हामी हरेक दिन त्यहाँ क्रिकेट खेल्थ्यौं। किनभने मैदान दुबै देशमा खुला छ। धेरै पल्ट सीमामा बसेका सुरक्षाकर्मीले हामीलाई बल टिपेर दिएका छन्। तर, अहिले डर लाग्छ, गोली त हान्ने होइनन्।’
उनले नेपालीहरू आफ्नो देशमा खाधान्न र तेल किन्न आउने गरेको बताए। गाउँको अर्को एक परम्परा पनि टुटेको छ। यहाँ कुनै बच्चाको जन्म भयो भने मुण्डनका लागि नेपाल लाने गरिन्थ्यो। नेपालमा एउटा ठाउँ छ, जहाँ सदियौंदेखि लालबन्दीका मानिस आफ्नो बच्चाको मुण्डन गराउने गर्दछन्। उनीहरूका अनुसार नेपालमा मुण्डन गराउँदा शुभ हुन्छ। अब त्यो सम्बन्ध पनि समाप्त भएको छ। स्थानीय रामछबीलाले भने, ‘हामी भैसीले बच्चा जन्माउँदा पनि दुध चढाउन नेपाल जान्थ्यौं। नेपालतर्फ एउटा यस्तो स्थान छ, जहाँ गाउँका मानिसहरू दुध चढाउँछन्। यो परम्परा पनि रोकिएको छ। धेरै मान्छे काम गर्न नेपाल जाने गर्थे। अहिले कसैसँग काम छैन।
नेपालमा ससुराली भएका सुरज देवले भने, ‘मेरो श्रीमती जिद्दी गरिरहेकी छिन्, आमा–बुवालाई भेट्छु भनेर। तर, अवस्था यस्तो भइसक्यो, लामो समय भेट्न गाह्रा पर्छ जस्तो लागिरहेको छ।’
उनलाई कुनै बेला सीमा वारिपारी बसे पनि एउटै देशमा बसे जस्तो लाग्थ्यो। तर, अहिले सीमाको अर्थ महसुस हुन थालेको बताउँछन्। लालबन्दीदेखि नजिकै रहेको नेपालको नारायणपुरमा धेरै भारतीयको बिहेबारी चलेको छ। यही मानिसहरू काम गर्न जान्थे पनि। अहिले सबै बन्द छ। स्थानीयहरू नेपालसँग सम्बन्ध सुध्रिएको हेर्न चाहन्छन्।
(दैनिक भास्करमा प्रकासित लेखको संपादित अंश)