मेलम्ची आयोजनाको १७ नम्बर गेट फुट्दा गाडीसहित २ जना बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा रहेको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन्।  खानेपानी आयोजनाको १७ नम्बर गेट फुटेर निस्किएको पानीले बगाएर मंगलबार गाडीसहित २ जना बेपत्ता भएका हुन्।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर– १ अम्बाथानमा रहेको १७ नम्बर गेट फुट्दा त्यहाँबाट निस्किएको पानीले आयोजनामा कार्यरत इञ्जिनीयर सतिश गोहित र चालक राधाकृष्ण थापा मगरलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए। 
त्यसक्रममा बा १ झ ६७६४ नम्बरको गाडी समेत बगाएको छ। गाडी केही तल खोलामा भेटिएको एसपी महर्जनले बताए ।

गोहित र थापासँगै पानीले बगाएका शेखर खनाल र पेम्बा दोर्जेलाई उद्धार गरिएको छ । उनीहरूलाई मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ ।

१७ नम्बर गेटमा केही फल्ट देखिएपछि मर्मतका लागि गएकाहरूलाई बगाएको एसपी महर्जनले जानकारी दिए ।

गत साताबाट मात्रै मेलम्चीको पानी काठमाडौं लैजाने सुरुङमा परीक्षण थालिएको थियो।

प्रकाशित मिति: : 2020-07-14 14:25:32

प्रतिकृया दिनुहोस्