कोहलपुरमा सरकारी जग्गा भू-माफियाले कब्जा गरेको खुलासा

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ स्थित किरणनालामा रहेको सरकारी जग्गा भू माफियाले कब्जा गरेको खुलेको छ।

साविकको रझेना गा.वि.स ३ स्थित उक्त सार्वजनिक जग्गा  सुकुम्वासीका नाममा पहुँचवाला व्यक्तिलाई वितरण गरेको  खुलेको हो। ती व्यक्तिको नाममा जग्गा धनी प्रमाण पत्र समेत लिइसकेको भन्दै भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले सो जग्गाको मालपोत असुली गर्नु भनी  पत्र काटेपछि यहाँका ४१ जना भू माफियाले आफ्नो नाममा गरेको पाइएको थियो।

कार्यालयले ती ४१ जनाको नाममा २०७७-०३-२३ गते पत्र काटेको छ । कार्यालयले असार २३ गते राजश्व असुली गर्न भनेपछि  यो प्रकरण बाहिरिनुका साथै स्थानीयले यस सम्बन्धमा थाहा पाएका हुन्।

सोमबार कोहलपुरमा बसेको राजनीतिक दलहरुको सर्बलीय बैठकले पहिलो पटक यस प्रकारणका विषयमा बोलेको छ ।  जग्गा वितरण प्रक्रिया खारेज गर्न चेतावनी दिदै दोषि माथि कारबाही नभए आन्दोलनको समेत चेतावनी दिइएको हो।

प्रेस विज्ञप्ति मार्फत कोहलपुर नगरपालिकालाई स्थानीय सररका सञ्चालन ऐन २०७४ अनुसारको कानुनी अधिकार प्रयोग गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।  साविकको रझेना गाविस वडा नम्बर ३ ख कित्ता नम्बर ७६,७७,७८ र ७९ को ६–०–० जग्गाहरु मध्ये ४–०–० जग्गा अवैधानिक तरिकाले ४१ जना व्यक्तिको नाममा दर्ता गराइएको थियो।

पूर्व-पश्चिम राजमार्गबाट दक्षिणमा होटल सेन्टर प्लाजा, उत्तरमा किरण खोला, पश्चिममा वडा नम्बर ४ को कार्यालय र पुर्वमा खाली रहेको उक्त जमिन ६ विघा भन्दा बढी रहेको पाइएको छ।

 उक्त सरकारी जग्गा भुमाफियाको कब्जाबाट मुक्त गरी संरक्षण गर्न राजनीतिक दलले कोहलपुर नगरपालिकासंग माग गरेका छन् । सरकारी जग्गाको नक्कली लालपुर्जा लिएका ४१ जना ब्यक्ति मध्ये राजनीतिक दलका नेता, पत्रकार र व्यवसायी समेत रहेका छन्

प्रकाशित मिति: : 2020-07-14 11:24:10

प्रतिकृया दिनुहोस्