भक्तपुरवासी ऋषिराज बस्नेत ७८ वर्षका भए। उनलाई संस्कृति र सम्पदाप्रति विशेष लगाव छ। त्यसैले सम्पदा निर्माण कार्यमा श्रमदान गर्दै गर्दा उनी आफ्नो उमेर बिर्सन्छन र २५ वर्षे ठिटोझैँ जोसिन्छन्। सम्पदाका लागि श्रमदान भनेपछि शरीरमा जाँगर आफैं थपिने उनको अनुभव छ। बस्नेतले यसपटक पनि पूरै एक हप्ता न्यातपोल (पाँचतले मन्दिर) निर्माणमा श्रमदान गर्न भ्याए।
मौलिक धरोहर बनाउने काममा योगदान गर्न पाउँदा उनलाई गर्व लागेको छ। भन्छन्, “उमेरले डाँडामाथिको घाम हुदै गएँ। तर, नयाँ पुस्तालाई मठमन्दिर सही हालतमा हस्तान्तरण गर्नु मेरो पनि जिम्मेवारी हो।”
पुरातात्विक महत्वको न्यातापोल मन्दिर पुर्ननिर्माणमा श्रमदान गर्ने अर्की स्थानीय सम्झना प्रेमी एक गृहणी हुन्। घरको काम भ्याएर पाँचतले मन्दिर निर्माणमा पसिना बगाउँदा उनलाई थकाइ होइन, बरु थप उर्जा मिल्यो। “सम्पदा हाम्रो धरोहर हो। यसलाई बचाउन स्थानीय नै पर्याप्त हुन्छ। तर मन मिल्नु पर्छ,” देशका महत्वपूर्ण सम्पदा बचाउन राज्यका सरोकारवाला निकायभन्दा स्थानीयको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ थियो, “पाँचतले मन्दिर पुर्ननिर्माणमा सबैभन्दा बढी महिलाहरूको सहभागिताले हामीलाई अझ खुशी बनाएको छ।”