नक्कली भ्याट बिल प्रकरणमा चार फर्मविरुद्ध ७७ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न पाँच वटा फर्मविरुद्ध ७७ करोड बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ। 

झुठो तथा नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धानमा तानिएका ती फर्मविरुद्ध बुधबार विभागले ७७ करोड ४ लाख १३ हजार २ सय २० बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

विभागका अनुसार झुठो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा न्यू कोइराला ब्रदर्श इन्टरप्राइजेजलाई एक करोड ७० लाख १९ हजार ८ सय ५५ रुपैयाँ बिगो कायम मुद्दा दायर गरिएको छ। मुद्दामा बिगोको दोब्बर जरिवाना र कैद सजाय माग गरिएको छ। 

कोइराला ब्रदर्शले ५१ लाख २ हजार ३८ रुपैयाँ मूल्य अभिबृद्धि कर र एक करोड १९ लाख १७ हजार ८१८ आयकर छलेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ। राजस्व चुहावट गरेको अभियोगमै काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोबार गर्ने समर ट्रेडसलाई ४ करोड ५८ लाख २ हजार २ सय ३९ रुपैयाँ बिगो कायम गरी जरिवाना एवम् कैद सजाय माग दाबी गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ। 

सो फर्मले मूल्य अभिबृद्धि कर ७४ लाख ७० हजार ३५८, आयकर ९६ लाख ७५ हजार ३१८ र भन्सार चोरी पैठारीतर्फ दुई करोड ८६ लाख ५६ हजार ५६३ रुपैयाँ छलेको अनुसन्धानबाट पत्ता लागेको छ। 

यस्तै, विदेशबाट मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी पौठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं महानगरपालिका-१५ बस्ने मयुर मालाकार समेत दुई जना उपर ४३ करोड १८ लाख ९५ हजार ४ सय ३१ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय मागेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

त्यस्तै, झुठो तथा मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा काठमाडौं-४ को जिमी ग्रुप प्रा.लि.लाई १८ करोड ३३ लाख बिगो असुल उपर गरी जरिवाना र कैद सजाय माग दाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। 

ललितपुर महानगरपालिका-३ स्थित न्यू क्रिएसन इम्पेक्स प्रा.लि. तथा बंगलामुखी ट्रेड एण्ड सप्लाई, वडा नम्बर २८ स्थित बिएस ट्रेड इन्टरनेशनलले राजस्व चुहावट गरेको अभियोगमा ९ करोड २३ लाख बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: : 2020-07-09 11:38:15

प्रतिकृया दिनुहोस्