पूर्वानुमानसहित महाशाखाले सुरु गर्‍यो सलह बुलेटिन

जल तथा मौसम पूर्वानुमान महाशाखाले सलहलाई केन्द्रित गरी विशेष मौसम बुलेटिन निकाल्न थालेको छ।

शनिबारदेखि सलह आगमन भएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बुलेटिन सुरु गरिएको महाशाखाले जनाएकाे छ।

सलहलाई केन्द्रीत गरी महाशाखाले सोमबार बुलेटिन सार्वजनिक गर्दै मंगलबारदेखि वायु पूर्वी दिशातिर सक्रिय हुने बताएको छ। वायु जतातिर बग्छ, सलहको झुण्ड त्यतैतिर गइरहेको देखिन्छ।

मंगलबारदेखि पूर्वतिर बहने हावाको गति अधिकतम् ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने पनि महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाले सोमबार बेलुकीसम्म पूर्वी वायु प्रदेश ५ सम्म सक्रिय हुने उल्लेख गरेकाे छ। तर, कर्णाली र सूदूरपश्चिम प्रदेशको सुर्खेतमा दक्षिणी पश्चिम वायु सक्रिय देखिएको छ। दक्षिणतिरबाट उत्तरतिर वायु सक्रिय भएकै कारण सोमबार कर्णाली र सूदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पनि सलह देखिएको छ।

केही दिनयता मनसुनको अरेबियन शाखाबाट बहने वायु दक्षिण पश्चिमबाट उत्तरतिर बहेको र त्यही वायुले भारतको उत्तर प्रदेश र बिहारबाट सलह ल्याएको विशेषज्ञहरुले विश्लेषण गरेका छन्। यतिबेला मनसुनको न्यून चापीय रेखा पनि नेपाल नजिक छ।

सोमबार पनि दिनैभरी प्रदेश ५ का केही भाग बाहेक दक्षिणतिरबाट पूर्व र पश्चिमभागतिर वायु सक्रिय भयो। त्यसको गति ३५ देखि ४५ किमि प्रतिघण्टा थियो। वायुको गति अनुसार सलह फैलिरहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विशेषज्ञहरुले मौसमविद्हरुसँग सहकार्य गर्दै नियन्त्रणका उपायहरु अपनाइरहेका छन्।
 

प्रकाशित मिति: : 2020-06-29 21:48:51

प्रतिकृया दिनुहोस्