इरानले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग माग्यो सहयोग

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। इराकको बग्दादमा भएको ड्रोन हमलामा मारिएका आफ्ना सैन्य कमाण्डरको हत्या आरोपमा ट्रम्पसहित दर्जन बढीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको समाचार संस्था एपीले जनाएको छ।

गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा हत्या गरेको आरोपमा इरानले झण्डै ३० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।  

ट्रम्पकोबाहेक अरूको नाम भने सार्वजनिक गरिएको छैन। तर इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएको बताइन्छ।

फ्रान्सको लियोनमा मुख्यालय रहेको इन्टरपोलले इरानी अनुरोधबारे कुनै प्रतिक्रिया दिएको छैन। 

गत पुषको दोस्रो साता इराकमा भएको अमेरिकी ड्रोन हमलामा इरानी कुद्स फोर्सका प्रमुख सुलेमानीको ज्यान गएको थियो । त्यतिबेला अमेरिकी रक्षा विभागले राष्ट्रपति ट्रम्पको निर्देशनमा सोलमानी हत्या गरिएको जनाएको थियो। 

हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएका थिए।

प्रकाशित मिति: : 2020-06-29 19:50:45

प्रतिकृया दिनुहोस्