मोरङमा स्कारपियोले ठक्कर दिँदा तीनजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका ७ खण्डमा बिहीबार राति करिब साढे ८ बजे पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार  झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो।

 त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो।

गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यता दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएकी अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुलेको छैन।

दुर्घटनापछि स्कोरपियाेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2020-06-26 11:49:25

प्रतिकृया दिनुहोस्