कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ । झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ । उनलाई कोरोना थिएन, तर कोरोनाको रिपोर्ट नभएकोले तीन दिनसम्म डायलाइसिस नभएकोले मृत्यु भएको हो ।
हातखुट्टा सुन्निने, खान मन नलाग्ने र बान्ता आउने समस्या भएपछि बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई ७ असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । रगत परीक्षणपछि चिकित्सकले मिर्गौलामा जटिल समस्या देखिएकाले तत्काल डायलाइसिस गर्न सल्लाह दिए । तर, अस्पतालमै रहेको बिरङ हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस सेन्टरले कोरोना परीक्षणको पिसिआर रिपोर्ट नल्याएसम्म डायलाइसिस गर्न मानेन । धानुकका कुरुवा रहेका भतिजा धनवीरले नमुना संकलन गरिदिन पटकपटक आग्रह गरे । तर, उनको सुनुवाइ भएन ।