दाङका एक वडाध्यक्षमा समेत कोरोना भाइरस संक्रमण पुष्टि

घोराही उपमहानरपालिकामा जिल्लाका अरु क्षेत्रमा भन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतमा रोजगारी गर्न पुगेकाहरुलाई उपमहानगरपालिकाले सीमा क्षेत्रबाट सवारी साधनको व्यवस्थापन गरेर क्वारेन्टिनमा राखेको छ ।

अहिले तिनै क्वारेन्टिन र संक्रमितको हेरविचारमा संलग्न एक वडाध्यक्षमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष केशव आचार्यलाई संक्रमण पुष्टि भएको हो ।

वडाध्यक्ष आचार्यले कोरोना भाइरससँग भागेर होइन लडेर युद्ध जित्न सकिने बताएका छन्

‘आफ्नो बलबुता, सामर्थ्यले भ्याएसम्म दिनरात खटिएर काम गरेँ’ उनले भने, ‘संघर्षको भूमिबाट पराजित नभइ महासंग्राममा होमिएको म पहिलो उपमहानगरपालिकाको वडाध्यक्ष हुँ । आशा छ मैले यो युद्ध जितिसकेको छु ।’

उनमा संक्रमणका कुनै लक्षण देखिएका छैनन् । उनी आइसोलेशनमा बसेका छन् । ‘कुनै पनि लक्षण देखा परेको छैन’ उनले भने, ‘हरेस नखाउँ, खानपिनमा अलि ख्याल गरियो भने हामी स्वस्थ रहने छौँ ।’

आचार्यको जेठ २४ गते स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको १६ औँ दिनमा बल्ल संक्रमण पुष्टि भएको हो । दाङ जिल्लामा अहिलेसम्म २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: : 2020-06-23 08:45:35

प्रतिकृया दिनुहोस्