कोरोनाको डर बिर्साउने मार्सीधान रोपाइँ ! (भिडियो)

छेकेर छेकिन्न इतिहासको पाँग्रा,

चल्छ अघि बढ्छ, निरन्तर।

रोकेर रोकिन्न जनताको आँधि,

चल्छ हुरी आउँछ बसन्त।

जनगायक जीवन शर्माको यो गीतले भनेझैं बसन्त ऋतु आगमन अगाडिको हुरीमा जुम्ली किसनाहरुले संसारकै अग्लो ठाउँमा फल्ने मार्सीधानको बीउ बताउने तयारी गर्दै गर्दा देशमा लकडाउन भयो। लकडाउन सम्बन्धी आममान्छेले नबुझेका धेरै कुराहरु थिए। स्थिति के गर्ने, के नगर्ने भन्ने दोधार मै  छ। तमाम अन्यौलताहरु हुँदाहुँदै पनि किसानको गति रोकिएन। जसरी हुरीले बसन्त आउनलाई रोकेन।

यहाँको केही ठाउँमा कुल देउताका अनुसार धानको क्यालेन्डर मान्ने भए पनि धेरै ठाउँमा धानको क्यालेन्डर एउटै छ । जुन चैत १२ गते धान बताउने र नजिकको खोला, खाडल वा घरकै ठुला भाँडामा भिजाउने। १६ गते भिजाएको धानलाई उतारेर सुकाउने। भिजेको धान सुक्नै आँटेको बेला भान्साको एक कुनामा न्यानो गरी भोजपत्र, हरिया सल्लाका झुप्रा (सल्लीपिर) वा राडीपाखीले छोप्ने।

चार दिनसम्म साँझ बिहान चिसो मुलको पानी छर्कने। त्यसले बीउ अंकुराउन सहयोग गर्छ। न्यानो कपडाले छोप्दा अंकुराएको बीउलाई हुर्कन बल पुग्छ। चिसो पानी छर्कने र छोप्ने गर्दा बीउ बेर्नामा राख्ने भइसक्छ। २० गते बीउ बेर्नामा राखिन्छ।

जुम्लाका लागि चैत १२ को बारुवा, १६ को सोरुवा र २० गतेको बिसुवा ठूला पर्व हुन्। मष्टो मान्नेहरु प्रकृति पुजक हुन्। त्यसैले कामसँग जोडिएका पर्व जुम्लीका लागि खास भएका संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य बताउँछन्।

यसको अलवा सिंजाको रनुखानामा चार दिन भिजाएको बीउ सिधै लगेर छर्ने चलन छ। जसलाई रोप्नी माइको बरदान मान्ने गरिएको स्थानीय नवाराज शर्माले बताए।

‘जुम्लामा धान रोप्ने, गोड्ने, बाली लग्याउने (संकलन गर्ने) जस्ता चलन सबै ठाउँमा उस्तै भए पनि बीउ उमार्ने तरीका यहाँको फरक छ,’ उनले भने, ‘सबैतिर घरमा उम्रीसकेको बीउ बेर्नामा छर्ने चलन छ भने यहाँ सिधै भिजाएको धान छर्ने गरिन्छ। हाम्रा पुर्खाहरुले यसलाई रोप्नी माइको बरादान भनेका छन्।’

यसै सम्बन्धमा सिंजामा प्रचलित गीत यस्तो छ,

जौ बाली धान बाली पक्ता, भुजपातका (भोजपत्र) पाना,

धान छडेर बीउ उमार्दा, सिंजा रनुखाना।

(स्रोतः परिलाल विश्वकर्मा, सिंजा मोफ्ला)

रनुखानाको बीउ उमार्ने विधिमा विज्ञानको कुन पक्षले काम गरिरहेको छ भन्ने अनुसन्धान हालसम्म भएको छैन। यो विषयमा कृषि अनुसन्धान केन्द्रमा कुनै पनि खालको अभिलेख भेटिदैन। हालसम्म लोक कहावत बाहेक अनुसन्धान गरेर बुझ्ने काम नभएको अनुसन्धान केन्द्रका प्राविधिक पारसमणी महतले बताए।

०००

शहरमा लकडाउनमा तोकेको समय बाहेक अरु बेला हिड्यो भने पुलिसले डण्डा लाउँछ। बन्द दैनिकीले शहरका मान्छेलाई ऋतु परिवर्तनको आभास हुन सकिरहेको छैन। शहरका लागि बसन्त आएकै छैन। तर, गाउँमा ग्रिष्म लागिसक्यो। गाउँ किसानहरुका कारण गुल्जार छन्।

जेठ १७ गते तातोपानी ४ गिडीखोलाकी जयकली सार्कीले आफ्नो रोपाइँ सकाइन्। उनको रोपाइँलाई सघाउन गुठीचौर गाउँपालिकाबाट उनीकी फूपु र बहिनी चार घण्टा हिडेर आइपुगे भने चन्दननाथ नगरपालिकाकी उनकी बहिनी दुई घण्टा हिडेर पुगिन्।

हरेक वर्ष दुइ रोपाइँ गर्ने उनले या वर्ष एउटै रोपाइँ मात्र गर्न सकिन्। फागुन लाग्दै गर्दा उनी घरको ओटालोबाट लडिन्। करिब एक हप्ताको अस्पतालमा बसाइ पछि पनि लामो समय आराम गर्नुपर्ने भयो। ‘अब नसक्ने भए,’ उनले भनिन्, ‘पोहोरसम्म दुइ रोपाइँ हुन्थ्यो, एउटा गडकुले र आर्को खोलापाने। यो वर्ष खोलापाने रोपाइँ मात्र भयो।’

गडकुल्या खेतमा नदीको पानीले सिंचाइ गर्न मिल्छ भने खोलापानेको खेतमा खोलाको पानीमा भर पर्नु पर्ने हुन्छ। जयकलीले यो वर्ष गडकुले खेत टाढा भएकोले अधिया दिएकी छन्।

बजारमै संस्थामा काम गर्ने उनका छोरा रबि नेपाली रोपाइँमा घर गए। बाउसे बनेका उनले खेतको आलि खन्ने, हिलोले आली चिप्लो बनाइ त्यहाँ भटमास लगाउन मिल्ने बनाए। यसो गर्दा धान रोपेको  दोहोरो फाइदा लिन सकिने उनले बताए।

उनको रोपाइँको तामझाम अघिल्लो दिनबाटै गरिएको थियो। रोप्नेरी महिला र जोत्नेलाई खानपानको व्यवस्था चाडबाडको जस्तै थियो। मुख्य बालीको रुपमा मानिएको धान रोपाइँलाई एक विशेष उत्सव जस्तै मानिने भएकाले एक दिनलाई अफिसमा बिदा मागेर आएको उनले बताए।

बजारको सुनसान वातावरण देखि गएका उनले भने, ‘बजारमा कुनै चहलपहल छैन। गाउँमा कोरोना, लकडाउन र सामाजिक दूरी कुन चराको नाम जस्तै छन्। बस रोपाइँ चलिरहेछ।’

०००

जुम्ला बजारमा डेरा गरी कर्णाली प्राविधिक शिक्षालयमा अनमी पड्ने रिता शाही कोरोनाका कारण लकडाउन भएपछि सिंजा कनाका सुन्दरी स्थित आफ्नो घरमा १० घण्टासम्म हिडेरै पुगिन्। केही दिन बजारमा बस्दासम्म लकडाउन खुलिजाला भन्ने लागेको थियो। तर दिन बित्दै जाँदा समस्या बल्झिदै जाने जस्तो मानेपछि उनी घरतिर हानिइन्।

‘केही समय घरको काममा भित्र बाहिर गर्दै बित्यो। त्यसबेलासम्म पनि गाउँमा कोरोनाको थोरैथोरै डर थियो। जब जेठ लाग्यो त्यसपछि डर हरायो। लकडाउन बिर्सियो। समाजिक दुरी सुन्नुपर्ने शब्द जस्तै भएन,’ उनले भनिन्, ‘जेठ लागेपछि अर्म पर्म गर्दै दिन गए। जौ भित्र्यायौं। त्यसपछि रोपाइँ चल्यो। एक दिन आराम नगरी रोप्न गइरहेकी छु। आज १० दिन भए लगातर रोप्न जान थालेको।’

‘स–साना रोपाइँ जेठ १२, २४ र २७ गते गरी तीनवटा भयो। अरु दिन अरुको परिम तिर्न गए। मैझारोको दिन फुपु चेलीहरुलाई बोलाएर खुवाउने चलन भएकाले हामीले पनि त्यही ग¥यौं,’ उनले थपिन्।

घरमा आमा, बुबा र भाइ छन्। बुबाको आधा शरीर चल्न छोडेको लामो समय भयो। रोपाइँको लागि चाहिने हलीको जोहो गर्न उनी छिमेकीकोमा रोप्न गइन्, बदलामा छिमेकी उनको जोत्न आइउदिए। यसरी उनको रोपाइँ सकियो।

०००

जेठ १५ गते कृषि विकास कार्यालय जुम्लाका प्राविधिक लक्षिराम महतको रोपाइँ भयो। उनको रोपाइँ हरेक वर्षको जेठ १५ मा हुन्छ। उनको सुरुको रोपाइँ नै मैझारो भयो। एक दिनमै रोपेर सकिने आठ रोपनी खेतमा रोप्नेरी ३० जनी लगाएका थिए। दुई जना खनजोत गर्ने मान्छे सहित एक जना आफू पनि दिनभर काममा लागेको उनले बताए।

‘अधिकांश गाउँकै महिलाहरु थिए। केही बिहे गरेका छोरी चेली पनि आए। अर्म पर्मले काम चल्छ,’ उनले भने, ‘पुरै गाउँमा कुन दिन कसको रोपाइँ हुन्छ भन्ने पहिले नै निर्धारण गरिएको हुन्छ। एक दिन एकको र अर्को दिन अर्कोको गरी रोपाइँ सकिन्छ। हाम्रो पनि त्यसै भयो।’

रोप्नेरीलाई (रोप्ने महिला) बिहान बेलुका खाना खुवाउनु पर्छ। दिउसो अर्नी खुवाउनु पर्छ। अर्नीमा पुरी, आलु र कलाको तरकारी बनाउने चलन उहिलेदेखिको हो। 

वर्षात धेरै हुँदा पानीको सुख

गुठीचौर गाउँपालिका देवल गाउँकी पदमशीला सार्कीका धेरै खेत खोलाको पानीले रोप्नुपर्छ। गडकुले जस्तो खोलापानेका खेतले पानी पाउन गाह्रो हुन्छ। रोपाइँ सकेपछि हप्तौं पछि मात्र पानीको पालो पाइन्छ। त्यसैले धान पनि गतिलो हुँदैन तर यो वर्ष पानीको उस्तो समस्या भएन। जेठको महिनामा धेरै पटक पानी प¥यो। हिउँद हिउँ धेरै परेकाले खोलाको पानी घट्न पाएन। पानी कम भएको सालमा आफ्नो खेतमा हाल्नलाई रिसारिस भइ झगडा हुने गरेको उनले सुनाइन्।

‘पहिला गाउँको एकजनासँग झगडा नभएको सालै हुँदैन थियो,’ उनले भनिन्, ‘यो वर्ष कसैसँग झगडा पनि भएन। धान पनि राम्रो छ। पानी मस्त पाएका खेत गोड्न पनि सजिलो हुन्छ।’

पदमशिलाको जस्तै चन्दननाथ ९ उमखोलाका हस्त सार्कीलाई पनि यो वर्ष पानीको दुःख भएन। उनको पुरै जिउलो खोलाको भर पर्ने भएकाले पानीको दुःख छ। त्यसमाथि नौ गाउँका जिउलाको एउटै खोला भएको हुनाले समस्या हुने भए पनि यो वर्ष अलि सहजै भयो।

‘खोलाको पानीको भर पर्ने खेत रोप्नको लागि धेरै कष्ट गर्नु पर्छ,’ उनले भने, ‘भोली रोपाइँ हो भने आज रातभरी जागराम बसेर खेतमा पानी लगाउनुपर्छ अनि बल्ल रोप्न पाइन्छ।’ तर यो वर्ष उनलाई पनि उस्तो गाह्रो भएन। उनलाई मात्र होइन गाउँभरीकाले दुःख गर्नु परेन।

बजारमा लकडाउन, कफ्र्यु जे सुकै भनिए पनि गाउँमा त्यसकौ कुनै असर छैन। खाली काम कसरी सकाउने भन्ने मानसिकता मात्र रहेको उनले बताए।

९० प्रतिशत रोपाइँ सकियो

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाको सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दरा, खोलाका रोपाइँ हुने क्षेत्रको लगभक ९० प्रतिशत खेतमा रोपी सकिएको छ। जुम्लामा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ हुन्छ।

मार्सी जुम्लाको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो वर्ष जुम्लाका २७ सय पचास हेक्टर जमिनमा धान रोपीने अनुमान रहेको बताए। अघिल्लो वर्ष २८ सय हेक्टरमा धान रोपिएको थियो।

‘अघिल्लो वर्षको तुलनामा यो वर्ष पचास हेक्टरले धान रोप्ने क्षेत्रफल घट्ने अनुमान गरेका छौं,’ उनले भने, ‘५० हेक्टरमा तरकारी खेती गरिएको छ। जुम्लाको तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतितिर आकर्षित भएको हुनाले यो वर्ष धान रोप्ने क्षेत्रफल घटेको हो।’

उनका अनुसार चन्दननाथ र गुठीचौरमा पुरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ। सिंजामा असार १० सम्म पनि रोपाइँ चल्ने गरेको छ।

कोरोनाको कारण रोपाइँमा असर नपरेको भएपनि रोपाइँसँग जोडिएको चोपाइँ संस्कृतिमा भने यसले केही असर गर्‍यो। यो वर्ष कतैपनि बाजा बजाएर खेतमा चोपाइँ नभएको उनले बताए।

जुम्लामा कसैको घरमा छोराको बिहे भयो वा छोरो जन्मियो भने त्यसले जेठको रोपाइँको बेला चोपाइँ उत्सव मनाउने चलन छ। ठूलो खेतमा नाच्ने, गाउने र बाजागाजासहित रमाइलो गर्ने, हिलो खेल्ने गरिन्छ।

यो पनि हेर्नुहोस्

मास्क लगाएर चन्दननाथको सेरा ज्युलोमा मार्सीधान रोपाइँ

प्रकाशित मिति: : 2020-06-14 17:52:49

प्रतिकृया दिनुहोस्