कक्षा ११ को परीक्षा रोक्न सकिन्छ, १२ को सकिन्नः शिक्षामन्त्री पोखरेल (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौं

कोरोना भाइरस महामारीका कारण देशभरका विद्यालय बन्द छन्। माध्यामिक शिक्षा परीक्षा (एसईई) रोकिएपछि सबै विद्यार्थीलाई आन्तरिक मूल्यांकनको आधारमा प्रमाण दिने सरकारको तयारी छ। अझै ६० दिनसम्म शैक्षिक गतिविधि ठप्प रहने सरकारको भनाइ छ। यसबीचमा शिक्षाक्षेत्रमा अनेकौँ विवाद पनि सिर्जना भएका छन्। यही सेरोफेरोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग गरिएको वार्ताः

अन्तिम समयमा रोकिएको एसईई परीक्षा नलिने निर्णय भयो। अब नतिजा कसरी आउँछ त?
पहिलो कुरा त परीक्षा गर्न नपाएको राम्रो होइन। हामी चैत ६ गते परीक्षा गराउने अन्तिम तयारीमा थियौं। ५ गते नै कोभिड १९ को कारण विश्वमा पारेको प्रभावलाई हेरेर विद्यार्थीको भीडभाड गर्न हुँदैन, भौतिक दूरी कायम गर्न नसकिएला, सुरक्षा व्यवस्था गर्न नसकिएला र त्यसले संक्रमणको जोखिम बढाउला भनेर रोकिएको थियो। त्यसपछिका दिन झन्झन् संक्रमण बढ्न थाल्यो।

अबको २ महिना हामी निकै जोखिमको अवस्थामा छौं। परिस्थितिको बाध्यताका कारणले परीक्षा रोकेर यो वर्ष नगर्ने निर्णय गरेका हौं।

दोस्रो कुरा, ऐनले यो परीक्षा गर्न हामीलाई बाध्य बनाएको हो। त्यसकारण शिक्षा ऐनको बाधा अड्काउ फुकाउने धारामा टेकेर हाम्रो मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लग्यो र यसलाई मन्त्रिपरिषद्ले स्वीकृति पनि दियो। प्रक्रियागत ढंगले यो राजपत्रमा छापिन्छ। छापिएपछि हामी कामलाई अगाडि बढाउँछौं।

नतिजाको लागि हाम्रो राष्ट्रिय परीक्षा बोर्ड छ। त्यसलाई कार्यविधि बनाउने जिम्मा दिइएको छ। आन्तरिक मूल्यांकनको आधारमा विद्यालयले ग्रेड दिन्छ। र, जिल्लामा भएको शिक्षा विकास तथा समन्वय इकाइले सिफारिस गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउँछ। अनि बोर्डले प्रमाणित गर्दछ।

प्रकाशित मिति: : 2020-06-13 10:10:16

प्रतिकृया दिनुहोस्