संसदमा प्रधानमन्त्रीको आग्रह- ‘अहिले हिसाबको चिन्ता नगरौं, कोभिड-१९ को चिन्ता गरौं’

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको बेला पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो असैय हुने बताएका छन्।

बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचारी नसहने भन्दै सांसदहरूलाई आश्वस्त पार्न खोजे।

कोरोना रोकथाम र नियन्त्रणका लागि करीब १० अर्ब रूपैयाँ खर्च भएको विवरण सार्वजनिक भएपछि सांसदहरूले त्यत्रो रकम कहाँ खर्च भएको हो भन्ने प्रश्न उठाएका थिए।

जवाफमा प्रधानमन्त्रीले भने- “त्यो हिसाब सार्वजनिक गर्ने एउटा प्रक्रिया हुन्छ। दिनैपिच्छे लेखा परीक्षण हुँदैन। अहिले हिसाब-किताबमा केन्द्रित भएका छैनौं। अहिले काममा केन्द्रित भएका छौं।”

उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई रकम पठाएको बताउँदै अहिले ती सरकारमाथि अविश्वास गर्नुपर्ने स्थिति नभएको बताए।

“अनियमितता भयो, भ्रष्टाचार भयो भन्ने र लान्छित गर्ने प्रवृत्ति देखिएका छन्। त्यसो नगर्न म आग्रह गर्छु,” प्रधानमन्त्री ओलीले भने, “कहिँकतै अनियमतिता, अपारदर्शिता, भ्रष्टाचार भएको रहेछ भने त्यसलाई सहिंदैन। छानबिन हुन्छ। कानूनको कठघरमा उभ्याइन्छ र दोषि पाइएमा कारवाही गरिन्छ।” 

हरेक खर्चको हिसाब-किताब आफ्नो प्रक्रियाबाट आउने बताउँदै प्रधानमन्त्रीले भने-“महालेखा परीक्षकको प्रतिवेदन आउँछ । आन्तरिक लेखा परीक्षणबाट पनि हिसाब आउँछ। अहिले हिसाबको चिन्ता नगरौं। कोभिड-१९ को चिन्ता गरौं।”

प्रकाशित मिति: : 2020-06-10 12:21:14

प्रतिकृया दिनुहोस्