नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध जनाउनेमाथि पानीको फोहोरा (भिडियाे)

नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै सरकारको कामको आलोचनासहित विरोधमा उत्रिएका युवाको समूहलाई प्रहरीले हस्तक्षेप गरेको छ।

मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले लाठीचार्ज र पानीको फोहराले हान्दै तितरवितर पारेको हो।

कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए। उनीहरुले सरकार ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए। सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर प्रहरीले हटाएको हो।

करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए। त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहाराले प्रहार गरिएको थियो भने लाठी चार्ज गरिएको थियो।

धर्नाका लागि पुगेकाहरले सरकार खोई, १० अर्बको हिसाब चाहियो, आरडिटी बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेटलगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: : 2020-06-09 13:27:10

प्रतिकृया दिनुहोस्