अधिकांश मान्छे लकडाउन खुल्ने प्रतीक्षामा छन्। स्थिति कहिले सामान्य होला र 'फलानो-फलानो' काम गर्छु भन्दै तालिका बनाउँदै होलान्।
प्राय: मानिसले दैनिकी एकोहोरो भएको बताइरहँदा कलाकार गौरी मल्ल भने फरक सुनिइन्, 'लकडाउन प्रतिबन्धमा घर बस्नुलाई बाध्यता मानेकी छुइनँ। घरभित्रको संसार पनि पर्याप्त छ।'
पहिलेदेखि नै काम नपरी बाहिर ननिस्किने गौरी यो बेला आफूलाई अझ व्यस्त र सकारात्मक राख्नमा तल्लीन छिन्। घरको दैनिक कामबाहेक उनी नियमित रूपमा व्यायाम र ध्यान गर्छिन्। आत्मशान्तिका लागि ध्यान उपयोगी हुने उनको अनुभव छ।
लकडाउनले हरेक क्षेत्र प्रभावित भएकाले धेरै मानिस मर्कामा परेका छन्। फिल्म क्षेत्र त ठप्पै छ। यसले वरिष्ठ अभिनेत्री गौरी मल्ललाई पनि नपिरोलेको होइन। हालको संकटमा उनलाई स्वस्थ र सकारात्मक रहने प्रयत्न गर्नु नै मानिसको प्राथमिकता हो भन्ने लागिरहेको छ।