संयोग लम्साल
म एकजना छिमेकीको बिहेमा गएको थिएँ। बिहे धुमधामले नै भएको थियो। चारैतिर चहलपहल थियो र बेहुला, बेहुलीसँगैअरू सबै पनि खुसी नै देखिन्थे। तर, पछाडि पार्किङ गर्ने ठाउँको एक कुनामा उभिएर बेहुलीका बुवा आँसु झारिरहनु भएको रहेछ। बाहिर एकजनालाई बाटो देखाउन निस्कँदा झट्ट उहाँलाई रुमालले आँसु पुछिरहेको देखेँ, अनि नदेखे जस्तो गरी अगाडि गेटतिर नै लागेँ।
'विचरा, कन्यादान गरेको भएर रोएका होलान्' सोच्दै मात्र थिएँ गेटमा लिन गएको मान्छेले नमस्कारभन्दा पनि अगाडि मेरो कानमा आएर 'क्षेत्रीले बाहुनको केटी लगेको रैछ हैन?' भनेर सुटुक्क अभिवादन गर्नुभयो। 'नमस्कार, मैले त कार्ड पनि हेरेर आएको हैन। हुन सक्छ' मैले भने।
त्यसपछि बेहुलीका बा पनि त्यही कारणले पो रुनु भएको हो कि भनेर बुझ्न साह्रै जिज्ञासा लाग्यो। खाना खाने बेला उहाँसँगै गएर छेउमै बसेर खाएँ। 'शुभकामना ! बधाई !' मैले संवाद सुरु गरेँ। 'तिमीले मैले रोएको देखेको थियौ। कसैलाई नभन्नु है बाबु।', उहाँले सिधै मलाई आग्रह गर्नुभयो। मैले सोचेभन्दा सजिलै जानकारी पाउने भएँ भन्ने लाग्यो।