देशभित्रैको सिमानासँग कहिलेसम्म लडिरहने ?

प्रकाश सपूत

सिमानामा लड्नुपर्ने वेला ‘देशभित्रको सिमाना’सँग लड्नुपर्‍यो

यतिवेला देशको सिमानाका लागि लड्नुपर्ने थियो । तर, मलाई ‘देशभित्रकै सिमाना’ले कालापानी पुग्न दिएन, लिम्पियाधुरा पुग्न दिएन । सिमानामा लड्नुपर्ने वेला आफ्नै देशभित्रको सिमानासँग लड्नुप-यो । ‘मान्छे हुन’ पहिला लड्नुपर्‍यो । देशभित्रका थुपै्र सिमानाविरुद्ध लड्नुपर्‍यो । 


देशभित्रैको सिमाना भत्काउन मेरा पुर्खाले कैयौँ दशक बिताए । तर, सकेनन् । मेरो पुस्ता पनि त्यही सिमाना भत्काउन आजसम्म पनि लड्नुपरेको छ । आफ्नै लागि मात्रै अझै लड्नु परेपछि देशका लागि कहिले लड्ने ? आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ ? 

मलाई पनि सिमानामा गएर यो देशका लागि लड्ने मन थियो । तर, कथित उपल्लो जातका भन्नेहरूले हामीलाई लखेट्न छाडेको छैन । आज नवराज लखेटिए । तिनीहरूले कहाँ नवराजलाई मात्रै लखेटेका थिए र ! तिनीहरूले दलितलाई लखेटेका थिए । डुमलाई, कामीलाई, दमाईलाई, सार्कीलाई, चमारलाई, मुसहरलाई लखेटेका थिए । 

 

प्रकाशित मिति: : 2020-05-30 07:42:41

प्रतिकृया दिनुहोस्