तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट कोहलपुरको चौराहा अचेल सुनसान छ। बीच सडकको ठूलो पार्कको अग्लो स्थानमा उभिएर सिंगो कोहलपुर चियाइरहेको बाघ यहाँको प्रमुख आकर्षण हो। कर्णाली, सुदूर पश्चिम र प्रदेश नम्बर पाँच पुग्ने प्रमुख गन्तव्य पनि हो चौराहा।
चौराहा यहाँको यस्तो ठाउँ हो, जहाँ दिनभरको सवारी आवागमन, मानिसहरुको भिडभाडले सयौँको गुजारा चलाउँछ। दुःख गरेर आफ्नो परिवारको सुख खोज्नेहरुको पैसा कमाउने माध्यम हो। तर दुई महिना लामो बन्दाबन्दीका कारण यहाँको आवागमन रोकिदाँ सयौ विपन्न नागरिकको रोजिरोटी खोसिएको छ। चौराहालाई आधार बनाएर गुजारा चलाउने नागरिकहरु यसको आसपासमा कोही घर भाडा त खुल्ला चौरहरुमा बस्छन्। कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको विषय परिस्थितिमा भाडामा बस्ने र त्रिपालमा बस्नेहरुको विचल्ली नै भएको छ। यहाँको सबै भन्दा सुगम मानिएको वडा नम्बर ११ मा हुनेखाने धनी वर्ग,हुँदा खाने विपन्न वर्गको समेत बसोबास रहेको छ। यही वडामा सिमान्तकृत गन्धर्व समुदाय तथा अन्य थुप्रै घरबार विहीन,मजदुरी गर्ने र मागेरै गुजारा चलाउनेहरु पनि छन्।
चौराहादेखि एक मिनेटको दुरीमा पर्छ, न्युुरोड चोक। यही चोकको दक्षिणमा खुल्ला चौर छ। उक्त चौर घरबार नहुनेहरुको घर बनेको छ।उक्त खुल्ला चौर लामो समय देखि सयौको संख्यामा टिनको टहरा र त्रिपालको भरमा घाम,पानी,हावाहुरी नभनि दुःख कष्ट गरेर जीवन गुजारा गरिरहेकोे दुःखीहरुको बस्ति समेत हो। यही ठाउँमा सयौ बेवारिसे, विपन्नहरुको भीडमा तीन जनाको परिवार पनि बस्छ। एक अपांगता भएका व्यक्तिको परिवार। जसका श्रीमान र श्रीमती दुवै जना अपंगता भएका छन्। तीन जना साना छोराछोरी मागेर आमा बुवालाई पाल्दै आएका छन्।
चितवनका विजय माझीको बिएल नेपाली सेवाले ‘बन्दाबन्दीमा भोको पेट रुदैँ दिन बिताउँने यी व्यक्ति’ शीर्षकमा जेष्ठ ८ गते समाचार प्रकाशन गरेको थियो। उक्त समाचार प्रकाशन पछि उनको परिवारले राहत पाएको छ। कर्णाली प्रदेशको मुगुका नरेश शाही र कोहलपुरका व्यवसायीले उनको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्। माझीलाई राहत वितरण गर्न जाँदा उनी बस्ने त्रिपालमा जादाँ भेटिएका थिए अन्य गरिब, विपन्न दम्पति। ती मध्ये एक हो। दृष्टिविहीन बृद्धबृद्धाको परिवार। जो उज्यालो हुन वित्तिकै सडकमा माग्न निस्कन्छन्। कसैले दिए भने पेट भरिन्छ। दिएन भने भोकभोकै बस्नु पर्ने अवस्था छ।
अर्का एक बृद्ध दम्पति पनि छ। उनीहरुको अवस्था झन दर्दनाक छ। यी कुनै पनि परिवारले यहाँका स्थानीय सरकारले दुई चरणमा राहत वितरण गरिसक्दा समेत राहत पाएका छैनन्। जबकी कोहलपुर नगरपालिकाकाको कार्यालय देखि करिब २ मिनेट र वडा नम्बर ११ को कार्यालय देखि करिब १ मिनेटको दुरी मात्रै छ उनीहरु बस्ने ठाउँ। ती बेवारिसे अवस्थामा बसिरहेका बृद्धबृद्धा हुन्, सुर्खेत घर भएका नन्दबहादुर रेग्मीको एक बृद्ध दम्पति।
उनीहरु कोहलपुरमा यसरी बस्न थालेको १५ वर्ष भयो। रेग्मी परिवार केही समयअघि सम्म कोठा भाडामा बस्दै आएको थियो। तर केही वर्ष यता दुवै जना शारिरीक रुपमा कमजोर हुन थालेपछि काम गरेर कमाउने अवस्था भएन। आम्दानीको स्रोत केही पनि नभएपछि बसपार्क नजिकै त्रिपालमा बेवारिसे रुपमा बस्दै आएका छन्। चैत्र ११ गते नेपाल सरकारले जारी गरेको लकडाउन पछि उनीहरुको नाजुक अवस्थामा बस्दै आएका छन्। रेग्मी लकडाउन सुरु हुनु अघिल्लो दिन मात्र भारतबाट कोहलपुर आएका थिए। उमेरले ६ दशक नाघेका उनी भारतमा मजदुरी गर्छन्। ‘भारतबाट दुई चार हजार कमाएर ल्याएको थिए। त्यो सबै सकिसक्यो। अहिले त भोकै बस्नु पर्ने अवस्था आएको छ।’ उनले भने। रेग्मीले केही समयअघि चौराहामा खुद्रा सामाना बेचेर समेत गुजारा चलाए।
उनका अनुसार अहिले लकडाउनका कारण न काम गर्ने अवस्था छ न त चुल्हो नै बल्ने अवस्था आएको छ। उनले विगत केही दिन देखि भने खाने कुरा केही पनि नभएको र भोकै पानी र चियाको भरमा दैनिकी चलिरहेको बताए। अहिले सम्म कसैले पनि राहत नदिएको उनको भनाई छ। राहतको लागि वडामा भएको भएपनि आफूले राहत नै नपाएको गुनासो समेत गरे।उनको त्रिपालमा एक खाट, केही थान लत्ता कपडा र आधा केजी चिनी, दुई केजी चामल बाहेक र एक पाकेट न्युन बाहेक केही पनि छैन। एकपटक नगरपालिकाका प्रमुखलाई भेट्दा आफ्नो दुःख सुनाउँदा सहयोग गर्ने बचन दिएको भएपनि अहिले सम्म सहयोग नपाएको बृद्ध रेग्मी बताउँछन्। ‘लकडाउनका कारण सरकारले दिने बृद्ध भत्तासमेत ल्याउन जाने अवस्था छैन। स्थानीय सरकारले राहत नदिएपनि केही दिन त्यहि पैसाले गुजारा चलाउँथे, हामी त्रिपालमा बस्ने मानिसका दुःख त कसैले सुनेनन्,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले आफ्नो व्यथा सुनाए।
नगरपालिकाको सबैभन्दा सुगम ठाउँमा बसिरहेका उनीहरुलाई स्थानीय सरकारले सहयोग गर्ला भन्ने आस अझै मरेको छैन। आसैआसमा उनीहरुको दैनिकी बितिरहेको छ। रेग्मीकी बृद्ध श्रीमती निन्याउरो अनुहारमा भन्छिन्,‘नगरपालिकाले अलिकति चामल र दाल दिएको भए पुण्य हुनेथियो, सहयोग गर्नेको त धर्मै लाग्थ्यो बाबै। कसैले सहयोग गरे भने ठिकै हुन्छ। होइन भने खोई यही त्रिपालमा मर्ने त होला।’ ६ दशकको हाराहारीमा पुग्नै लागेकी उनको अहिले सम्म नागरिकता समेत छैन।
उनका अनुसार राहतको लागि नागरिकता माग्छन् रे। कोहलपुर नगरपालिकाले लकडाउनको समयमा वडा कार्यालयबाट राहत पाउनको लागि अनिवार्य नागरिकताको फोटो कपि हुनुपर्ने व्यवस्था गरेको छ। उता नगरपालिकाका प्रमुख लुट बहादुर रावतले भने यस्ता समस्या भएका व्यक्ति नगरपालिकाको सम्पर्कमा आएमा सहयोग गरिने बताउँछन्। कोहलपुर नगरपालिकाले यस अघि दुई चरणमा राहत वितरण गरिसकेको छ।