कोरोना कहर : क्वारेन्टिन व्यवस्थापनमा सेना

बिएल संवाददाता

भीमदत्तनगर

कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो।

  सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले जानकारी दिए। 

'स्थानीय तहमा रहेका ठूला क्वारेन्टिनमा बसेर आवश्यक व्यवस्थापनको काम हामीले गर्दैछौं' उनले भने, 'स्थानीय तहका अन्य स्थानमा रहेका क्वारेन्टिनको निगरानी र सुरक्षा सतर्कता बढाएका छौ।' 

 स्थानीय तहसितको समन्वयमा सेना क्वारेन्टिनको व्यवस्थापनमा जुटेको बताउदैं उनले भने, 'यसअघि सेना गड्डाचौकी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँचमा समेत खटिएको थियो।' त्यसैगरी आज नै उसले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनबारे नमूना प्रदर्शन गरेको उनले बताए। 

सो गुल्म र २५ फिएको संयुक्त आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महाकाली अस्पताल र जनस्वास्थ्यकर्मीलाई नमूना प्रदर्शन देखाइएको सेनाले जनाएको छ। 

'शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत योजनाबद्ध व्यवस्थापन कसरी गर्छौँ भनेर प्रदर्शन गरिएको हो' सेनानी मल्लले भने, 'भैपरी आउने सङ्क्रमण चुनौतीसित जुध्न सेना आवश्यक तयारी अवस्थामा छ।' 

प्रकाशित मिति: : 2020-05-24 12:54:19

प्रतिकृया दिनुहोस्