कोरोना पुष्टि भएपछि ३९ जना सँगै सुते, संक्रमित व्यक्ति को ? क्वारेन्टाइनमा अत्तोपत्तो छैन !

लेखको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया एक युवामा कोरोना संक्रमणको आशंका गरिएको सोमवार बिहान ८ बजे खबर सार्वजनिक भयो ।

जेठ १ गते स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको अवस्थामा गत शनिवार प्रदेश सरकारको पहलमा सबै ३९ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब स्वास्थ्यकर्मीले प्रदेश अस्पताल कालागाउँमा ल्याएर पीसीआर विधिमार्फत जाँच गरे । ३९ जनामध्ये १ जनाको रिपोर्ट ‘पोजेटिभ’ आयो । कोरोना पोजेटिभ आएको हल्ला गाउँमा गएपनि कुन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ भन्ने कुरा हालसम्म पनि कसैलाई थाहा नभएको स्वास्थ्य चौकी सात्तालाका प्रमुख ध्रुवराज विष्टले लोकान्तरलाई बताए । ‘सोमवार बिहान ८ बजे एक जनालाई कोरोना पोजेटिभ देखिएको खबर आएको थियो,’ उनले भने, ‘हालसम्म कुन व्यक्तिमा कोरोना देखिएको हो थाहा छैन ।’ उनका अनुसार ती सबै व्यक्ति हिजोअस्ती जस्तै सँगै क्वारेन्टाईनमा बसेका थिए । कोरोना संक्रमित भएको पत्ता लागेपनि अहिलेसम्म उनीहरू एकैसाथ बसिरहेका छन्, कसलाई कोरोना संक्रमण भएको हो अत्तोपत्तो छैन । संक्रमित व्यक्तिको नाम क्वारेन्टाइनलाई जानकारी नदिँदा अन्य व्यक्तिलाई पनि कोरोना सर्ने सम्भावना बढेको उनले बताए  ।

प्रकाशित मिति: : 2020-05-19 13:35:09

प्रतिकृया दिनुहोस्