प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।
मृतकका आफन्तले घटना ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाले समितिले शुक्रबारदेखि छानबिन शुरु गर्ने बताए । “आजसम्म शव परीक्षण रिर्पोट आइपुग्छ, त्यसपछि समितिले छानबिन शुरु गर्छ”, उनले भने, “घटनाबारे प्रश्न उठिसकेपछि गहिरो अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो, शव परीक्षण रिर्पोट र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।”
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत खड्का सोमबार सम्पर्कविहीन भएका थिए । मङ्गलबार बिहान चौकीदेखि अन्दाजी १५०० मिटर टाढा पेस्तोलसहित उनी मृत अवस्थामा भेटिएका थिए ।
आफन्तहरुले आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन् । मृतकका दाजु यामबहादुर खड्काले चौकी इञ्चार्जको पेस्तोल कसरी जवानको हातमा पुग्यो भनेर प्रश्न गरे ।
“ढाडमा निलडाम, बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाँल देखिन्छ”, उनले भने, “आत्महत्या गरेको व्यक्तिको हातमा पेस्तोल कसरी रहन सक्छ ? घटना शंकास्पद छ ।” यामबहादुरले चौकी इञ्चार्ज असई देवबहादुर थलालसहित चार प्रहरीविरुद्ध किटानी जाहेरी दिने बताएका छन् ।