जुम्लामा विद्यार्थीलाई राहतसँगै बालकथा (भिडियाे)

चन्दननाथ–१० बोहरागाउँकी प्रेरणा नेपाली एक क्यारेट अन्डा, एक बट्टा बर्नभिटा, दुईवटा डेटोल साबुन र एउटा बाल कथाको किताब आफ्नै स्कुलले राहत स्वरुप थमाइदिँदा मख्ख देखिन्थिन्। मंगलबार बिहान उनको स्कुलले फोन गरेपछि उनी आफ्नी आमालाई साथमा लिएर स्कुल पुगेकी थिइन्।

‘यतिका सामान पाउँदा मलाई एकदम खुसी लागेको छ। धेरै दिन भयो कथा पढ्न नपाएको। हाम्रो स्कुलको लाइब्रेरीमा कथाका धेरै किताब छन्। स्कुल बन्द भएपछि एक दिन पनि पढ्न पाएका थिएनौं,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दा हाँस्दै भनिन्, ‘अब यो किताबमा भएका कथा पढ्छु। हाम्रो स्कुलले रेडियो खुला आकाशबाट कथा सुनाउने गरेको छ। अनि हाम्रो सर पनि रेडियोबाट पढाउनु हुन्छ। कोरोना भाइरसले गर्दा हामी स्कुल आउनै पाएका छैनौं। आज धेरै दिनपछि स्कुलमै बोलाएर यतिका खाने कुरा दिनुभयो।’

उनी दूई कक्षामा पढ्छिन्। नर्सरीमा पढ्ने चन्दननाथ–४ सिंहाचौरका जेम्म सुनार आफ्ना बाबुसँगै आएका थिए। बाबुले समाएको राहत सामग्रीतिर चोर औंला सोझ्याउँदै भने, ‘हाम्रो स्कुलले दिएको।’ उनका बाबु फिसिक्क हाँसे र केही नबोली बाटो लागे। 

कक्षा चारमा पढ्ने सुर्खेतका प्रदिप नेपाली आफ्नी आमाको हात समातेर डेरातिर लागे। यो लहर एकपछि अर्को गरेर एक घण्टासम्म चलिरह्यो। यसरी राहत प्याकेज समातेर खुसी हुँदै आफ्नो बाटो लाग्ने पचास विद्यार्थी र उनीहरुका अविभावक थिए। 

ती अविभावकका निम्ति त्यस्तो अवसर जुराएको थियो जुम्ला बजारको अशोक नमुना आधारभूत विद्यालयले। आफ्ना विद्यार्थीलाई राहत दिने सोच बनाउँदा साथ दिएका थिए, क्यानडाको ‘मानवता फाउन्डेसन’ र जुम्लाको ‘कर्णाली स्पोर्ट क्लब’ले। 

संसारभरि फैलिएको कोरोना भाइरस कोभिड –१९ को प्रभाव नेपालमा पनि देखिन थालेपछि सरकाले सुरुमा विद्यालय एक महिनाको लागि बन्द गर्ने निर्णय गरेका थियो। जोखिम उच्च हुन थालेपछि देश लकडाउन भयो। त्यसयता विद्यालय खुलेका छैनन्। फागुनमै नयाँ शैक्षिक सत्र सुरु हुने जुम्लाका विद्यालयमा पढाई छुटेको दुई महिना हुनै आँटेको छ। 

विद्यालय बन्द भएपछि पढाइ नहुँदा मनाेवैज्ञानिक असर परेको भन्दै अशोक नमुनाले विद्यार्थी अभिभावकसँग कुनै न कुनै माध्यमबाट सम्पर्कमा रहिरहने उपाय सोचेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीले बताए। 

‘हाम्रा बालबालिका घरमा बसिरहेको बेला के गरिरहेका छन् भन्ने कुरा बुझ्ने, मानसिक रुपमा विछिप्त हुनबाट जोगाउने र शारीरिक मजबुतीका लागि सन्तुलित आहार दिने सोच बनायौं। हामीलाई क्यानडाको मानवता फाउन्डेसनले आर्थिक सहयोग गर्‍यो,’ उनले भने, ‘स्थानीय स्तरमा कर्णाली स्पोर्ट क्लबले सहयोग गरेपछि पहिलो चरणमा पचास विद्यार्थीलाई राहत दिएका हौं।’ 

अहिले अध्यापनको काम विद्यालयमा हुन नसक्ने भएकाले राहत प्याकेजमा खानेकुराका साथै कथाको किताब पनि राखिएको उनले बताए। ‘पहिलो चरणमा गरिब तथा विपन्न विद्यार्थीलाई वितरण गरिएको छ,’ उनले भने, ‘हाम्रो स्कुलमा चानचुन दुई सय विद्यार्थी छन्। दोस्रो चरणमा प्राथमिकता निर्धारण गरी अरु विद्यार्थीलाई पनि बाँड्ने योजना छ।’ 

अशोक नमुना विद्यालय राम्रो हुँदै गएको र संकटमा योजना पनि राम्रो बनाएकाले सहकार्य गरेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए। ‘स्कुल राम्रो हुँदै गइरहेको छ। सामुदायिक स्कुलको स्तर खस्किरहेको अवस्थामा अशोक नमुनाले राम्रो काम गरिरहेको छ,’ उनले भने, ‘यो सुखद पक्ष हो। नाफामूखी भावनाले प्रथामिकता पाएको समयमा सेवा गर्ने भावन बोकी गरीबको सेवामा समर्पित भएकोले सहकार्य गरेका हौं।’

एक वर्ष अघिसम्म सात जना विद्यार्थी मात्र भएको विद्यालय अशोक नमुनामा व्यवस्थापन राम्रो भएपछि नीजि स्कुलबाट पनि विद्यार्थीहरु आएका छन्। हाल पाँच कक्षासम्म अध्यापन भइरहेको छ भने विद्यालयमा अधिकांश निम्न मध्यम वर्गीय परिवारका विद्यार्थी भर्ना भएका छन्।

लामो समय विद्यार्थीको पढाइमा बाधा परेपछि विद्यालयले रेडियोबाट कक्षा संचालन गरिरहेको छ। ‘हामीले रेडियो खुला आकाशसँग सहकार्य गरी ‘सुनापढी’ नामक रेडियो कार्यक्रम मार्फत कक्षा संचालन गरिरहेका छौं,’ अध्यक्ष कार्कीले भने। 
 

प्रकाशित मिति: : 2020-05-08 19:58:00

प्रतिकृया दिनुहोस्