नेताको परीक्षण, जनताको कहिले

  भाषा शर्मा

 लकडाउन भएको ४२औं दिनसम्म नेपालमा कोभिड १९ संक्रमणको १४ हजार जनामा परीक्षण गरियो। देशभर कछुवा गतिमा भइरहेको परीक्षणमा हेर्दा सरदर दैनिक ३ सय ३३ जनाको परीक्षण भएको छ। यही गतिले नेपालको कुल जनसंख्याको पिसिआर परीक्षण गर्न ९० हजार दिन लाग्ने देखियो। त्यो भनेको २ सय ४६ वर्ष हो। 

कोभिड १९ को निकै सुस्त परीक्षण भइरहेका बेला संघीय संसद्का सदस्यले पिसिआर प्रविधिबाट एकैदिन जाँच गराए। देशमै परीक्षण किट अभाव भइरहेका बेला सांसदले भने एकै दिनमा सहज रुपमा जँचाए। 

यही साता मंगलबार देशभर गरी २ सय १० जनाको नयाँ परीक्षण गरिएको थियो भने बुधबार मात्रै २ सय ४८ जनाको परीक्षण गरिएको छ। अझ नेपालगन्जमा एकैपटक ठूलो संख्यामा संक्रमित देखिएपछि त्यहाँ थप परीक्षण गर्नुपर्ने माग उठिरहेको छ। सुदूरपश्चिमसहितका कतिपय ठाउँमा परीक्षण सामग्री अभाव हुँदा संकलन गरिएको स्वाबसमेत त्यत्तिकै थन्किएको छ। तर जनप्रतिनिधिले जनताको स्वास्थ्य परीक्षणमा भएको सुस्तताप्रति मौन छन्। उल्टै उनीहरुले आफ्नो कोरोना परीक्षण गराएका छन्। प्रभावित क्षेत्रका जनताप्रति बेवास्ता गरिएको छ।

प्रकाशित मिति: : 2020-05-08 07:55:10

प्रतिकृया दिनुहोस्