अत्यावश्यक सवारीसाधनलाई ई-पासको व्यवस्था

जिल्ला प्रसासन कार्यालय, पर्साले लकडाउनको अवधीमा सञ्चालन हुने अत्यावश्यक सवारीसाधनलाई ई-पास उपलब्ध गराउने भएको छ। कार्यालयले ई-पास सम्बन्धी बिहिबार सूचना जारी गर्दै कार्यालय नआइकन जो जहाँ छ त्यहीँबाट आवश्यक व्यक्तिले पास लिन सक्ने व्यवस्था मिलाएको जानकारी गराएको छ। 

सरकारले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि लकडाउनको अवधी जेठ ५ गतेसम्म लम्बिएकाले विभिन्न मितिमा जारी गरिएका सवारी पासको अधिकतम बिहिबार २५ गतेसम्म नै रहेकाले उक्त मितिपछि त्यस्ता पास स्वतः खारेज हुने समेत जानाइएको छ। 

सूचनामा अत्यावश्यक काम परेका व्यक्तिले मात्र ई-पासको लागि आवेदन दिन अनुरोध गरिएको छ।

यसकालागि मोबाइलको एसएमएस बक्समा गइ १११२ मा ABC वा १२३ लेखि एसएमएस गर्ने। त्यसपछि रिप्लाईमा आएको लिंकलाई खोलेर सबै विवरण भर्ने तथा आवाश्यक कागजात अपलोड गरी आवेदन विवरण पेश गर्नुपर्नेछ। साथै कार्यालयबाट जारी गरिएको पास भए नभएको यकिन गर्न v—pass टाइप गरी १११२ पठाइ जाँच गर्न सकिनेछ।

पास जारी गर्नुपर्ने औचित्यपूर्ण कारण देखिएमा मात्र पास जारी गरिने र त्यसको जानकारी सम्बन्धित व्यक्तिको मोवाइलमा एस.एम.एस.मार्फत् पठाइने सुचनामा जनाइएको छ। 

साथै जिल्लामा एकपछि अर्को कोभिड–१९ का संक्रमितहरू देखापर्दै गएकोले यसको संक्रमण अरूतिर विस्तार हुन नदिन तथा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अत्यावश्यक अवस्थामा बाहेक यातायातका साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-07 09:34:21

प्रतिकृया दिनुहोस्