उहाँकै शब्दमा ‘अब राजनीति र समाजसेवामा आउने मनस्थिति’ बनाएका, समाजसेवा त महोत्तरीबाटै सुरु गरिसकेका सर्वेन्द्र खनाललाई राष्ट्रिय मानव अधिकार आयोगमा देख्दा नरमाइलो लाग्यो । मुलुकको पूर्वआइजिपीमाथि सांसद अपहरणको गम्भीर अभियोग पक्कै सामान्य होइन । यो अभियोगको उहाँ आफैं सामना गर्नुहोला । तर, एउटा औसत लोभीका महत्वाकांक्षामाथि खेलेर उहाँलाई जति पनि गिराउन सक्ने हाम्रो ‘सिस्टम’ र हाम्रा नेताहरूले आफूमाथिको प्रश्नको कसरी सामना गर्लान् ?
खनालले प्रस्ट भन्नुभएको छ, ‘मैले संवैधानिक नियुक्ति पनि पाउन सक्छु ।’ अर्थात्, उहाँ त्यस्तो नियुक्तिको खोजीमा हुनुहुन्थ्यो । आइजिपीका रूपमा यो लोक सुधारेका उहाँ आयुक्तका रूपमा परलोक पनि सुधार्न चाहनुहुन्थ्यो । तर, नियुक्ति त सजिलो छैन । सजिलो हुन्थ्यो भने खनालले समाजसेवा काठमाडौं वा तनहुँबाटै सुरु गर्नुहुन्थ्यो, महोत्तरी पुग्नै पर्दैनथ्यो ।
संवैधानिक वा जुनसुकै नियुक्तिमा पनि यो देशमा बौद्धिक वा व्यावसायिक रचनाशीलतालाई कुनै ठाउँ छैन । आजको नेपालमा योग्यताले कसैलाई नियुक्ति दिलाउँदैन । व्यावसायिक सीमाभित्रको बफादारी पनि धेरै काम छैन । नेताहरूलाई चाहिन्छ, नांगो दलाली । बालुवाटारमा मात्र होइन, बूढानीलकण्ठ र खुमलटारमा पनि नियुक्तिहरू या पैसामा बेचिन्छन्, या नातेदार र दासहरूलाई बकस दिइन्छन् । यस्तो देशमा थोरै पौरख गरेर शासकहरूका नजरमा पर्न खोज्नु सर्वेन्द्र खनालको कुन ठूलो अपराध हो र ?