डा. प्रकाशचन्द्र लोहनी, पूर्वअर्थमन्त्री
संकट भनेको एउटा मौका पनि हो, संकटलाई पनि सम्भावनामा परिणत गर्नुपर्छ । ठूला-ठूला परिवर्तनहरु यस्तै संकटमा बेला नै आउँछ । मौका छोप्न सकियो भने साँच्चिकै कल्पनै नगरेको परिवर्तन पनि हुन सक्छ । केही उदाहरणहरु छन् ।
संकटका बेला परिवर्तन भएको सन् १९९१ भारतमा पीभी नरसिंह राओ प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री थिए । त्यो बला भारतको आर्थिक स्थिति यति बिग्रिएको थियो कि आयात गर्न १५ दिनलाई भन्दा बढी विदेशी मुद्रा सञ्चिति थिएन । त्यतिबेला भारतले बेलायतमा सुन नै पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने स्थिति थियो । देश नै टाट पल्टिने अवस्था थियो । उनीहरुलाई दबाब थियो । त्योबेला भारतमा विभिन्न सुधारका कार्यक्रम आए । खासमा मनमोहन त्यति धेरै सुधारकेन्दि्रत मान्छे होइनन् । तर, त्यसबेला एउटा पूर्णखालको ‘डिपार्चर’ नै भयो । त्यसले भारतको विकासको कोर्स नै फरक भएर गयो ।
अर्को एउटा उदहारण मलाई सम्झना छ ।
दोस्रो विश्वयुद्धपछि एक करोडभन्दा बढी अमेरिकन फौज युरोपबाट अमेरिकामा फर्केर आए । त्यसपछि अहिले नोबल पुरस्कार जितेका विज्ञहरुले नै अब अमेरिकामा यति ठूलो ब्यापक बेरोजगारी हुन्छ कि तहस-नहसकै अवस्था आउँछ भनेर अड्कलबाजी गरे । तर, ती मान्छे फर्केर आएपछि अमेरिकामा अर्थतन्त्र ब्यापक विस्तार भयो ।