संसद भवन छिर्दा मास्क अनिवार्य, सभाहल बाहिर हात धुन साबुन पानी

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसदको बजेट अधिवेशनमा संसद छिर्दा सांसद, कर्मचारी, पत्रकारलगायत सबैलाई अनिवार्य रुपमा हात धुनुपर्ने र ज्वरो नाप्ने व्यवस्था गरिएको छ। कोरोना भाइरसको जोखिम कम गर्नका लागि उक्त व्यवस्था गरिएकाे हाे।

अधिवेशन यही वैशाख २६ गते सुरु हुँदैछ । आइतबार नै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्।

संघीय संसद सचिवालयका अनुसार एक सय डिग्री भन्दा बढी ज्वरो आउनेलाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ।

संसद भवन छिर्दा सर्जिकल मास्क अनिवार्य लगाउनुपर्छ । सभाहल बाहिर हात धुनका लागि साबुन पानीको व्यवस्था गरिनेछ।

संसद भवनभित्र सांसदहरुले बोल्दा समेत ख्याल गर्नुपर्नेछ । एक जना सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ।

संघीय संसदको बैठकमा संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने लगायतका सभामुख अग्निप्रसाद सापकोटाले सरोकारवालासँग छलफल गरेका छन्।

आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी, सचिव लगायतसँग संसद बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्।

छलफलका क्रममा सभामुख सापकोटाले संघीय संसदका तर्फबाट सकिने जति सबै पूर्वतयारी गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-03 21:23:15

प्रतिकृया दिनुहोस्