सरकारको वेथितिविरुद्ध सिन्धुपाल्चोकमा राँके जुलुस

नेपाली कांग्रेस सिन्धुपाल्चोकमा सरकारको वेथितिविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ। 

सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल सांसद अपहरणमा संलग्नकाे विषयमा उजुरी लिन नमान्नु, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारलगायतको विरोधमा कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आइतबार बेलुका राँके जुलुस निकालेको हो।

राँके जुलुसमा उनीहरुले पुर्व सचिव भिम उपाध्यायको रिहाइको माग समेत गरेका छन्। जुलुस खुर्सानीबारीबाट सुरु भएर बाह्रबिसे पुलमा आएर कोणसभा गर्दै सम्पन्न भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सरकारले गरेका गलत कामहरु नसच्चयाए कांग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए।

कांग्रेसका स्थानीय नेता नेता युधिर पौडेलले सरकारको गतिविधि निरंकुशतातिर गएको आरोप लगाए। 

राँके जुलुसमा सहभागीले भ्रष्टाचारी सरकार मूर्दावाद, अपहरणकारीलाई कारवाही गर, नक्कली स्वास्थ्य सामग्री खरिद गर्ने ओम्नी समूहलाई कारवाही गर, पुर्व सचिव भिम उपाधयायको रिहाइ गर लगायत नारा लगाएका थिए।

प्रकाशित मिति: : 2020-04-27 09:14:06

प्रतिकृया दिनुहोस्